विराटनगर : विराटनगरमा भएको एक क्रुर हत्या घटनाका एक मुख्य अभियुक्त ६ वर्षपछि पक्राउ परेका छन्। मोरङ प्रहरीले शनिबार विराटनगर–१६ बाट ५५ वर्षीय एसराज लामालाई पक्राउ गरेको हो।
२०७६ वैशाख ८ गते झापाको अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर–१६ मा डेरा गरी बस्दै आएकी २१ वर्षीया ईशा योगी शेर्पाको हत्या भएको थियो। ईशा सोही ठाउँका रेम्बो भनिने रुद्रराज लामासँग प्रेम सम्बन्धमा थिइन्। प्रहरीले घटनामा परिवारको संलग्नता रहेको पुष्टिसहित एसराज, उनका छोरा रुद्रराज र पत्नीलाई अभियुक्तको रूपमा पहिचान गरेको छ।
अनुसन्धान अनुसार, रुद्रराजले आफ्नी प्रेमिकालाई घरमा बोलाई पेट्रोल छर्किएर आगो लगाएका थिए। उनको परिवारको मिलेमतोमा योजना अनुसार हत्या गरिएको दाबी प्रहरीले गरेको छ। गम्भीर रुपमा घाइते भएकी ईशाको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।
घटना लगत्तै तीनैजना फरार भएका थिए। घटनाको एक महिना नबित्दै २०७६ जेठ १३ गते कर्तव्य ज्यान अभियोगमा मुद्दा दर्ता भए पनि कुनै अभियुक्त पक्राउ परेका थिएनन्। ६ वर्षपछि एसराजलाई पक्राउ गरिए पनि रुद्रराज र उनकी आमा अझै फरार छन्।
प्रहरीका अनुसार, रुद्रराज हत्या घटनापछि विदेश फरार भएका छन्। उनलाई इन्टरपोलको सहयोगमा नेपाल फर्काउने प्रक्रिया थालिएको छ। रुद्रराजकी आमाको हालको अवस्थाबारे भने प्रहरीले अझै पत्ता लगाउन सकेको छैन।
एसराजलाई विराटनगरस्थित घरबाटै पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। उनको विरुद्ध म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया