गोसाईंकुण्डमा मृत फेला मोरङका दुई युवकको शव खराब मौसमका कारण काठमाडाैं ल्याउन सकिएन

सोमबार, १२ साउन २०८२

रसुवा : रसुवास्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाईंकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई युवाको शव फेला परेपनि लगातारको वर्षा र खराब मौसमका कारण काठमाडौँ ल्याउन सकिएको छैन।

मृतकमा मोरङको बेलबारी नगरपालिका–११ निवासी करिब २८ वर्षीय मनोज न्यौपाने र विराटनगर महानगरपालिका–३ निवासी २६ वर्षीय सुजन ढकाल रहेका छन्। ती दुई जना आइतबार दिउँसो गोसाईंकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

खबर प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीयको सहयोगमा सोमबार बिहान करिब ११ बजे दुवै जनाको शव फेला पारेको हो।

सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, प्रतिकूल मौसम, बाक्लो हुस्सु र वर्षाका कारण हेलिकप्टर अवतरण गर्न असम्भव बनेको छ। अहिले शवहरू तीर्थयात्री बस्ने पाटीपौवामा राखिएको छ, जहाँ सुरक्षाकर्मीहरूको टोली खटिएको छ।

डीएसपी थापाले मौसममा सुधार आए लगत्तै मङ्गलवार शवलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी भइरहेको जानकारी दिए। गोसाईंकुण्ड धार्मिक महत्त्वको स्थल भएकाले बर्सेनि हजारौँ भक्तजन त्यहाँ स्नान गर्न पुग्छन्। मौसम प्रतिकूल हुँदा जोखिम अझ बढ्ने हुँदा सुरक्षा संयन्त्र कडा बनाइएको अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार