झापा : मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापनिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएपछि नगरमा स्वास्थ्य सतर्कता उच्च बनाइएको छ ।
मेचीनगर स्वास्थ्य शाखाका प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा लामखुट्टेको टोकाइबाट सर्ने यो घातक रोग पुष्टि भएको हो ।
दुवै जनाको बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
सङ्क्रमण पुष्टि भएसँगै मेचीनगरमा रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य अभियान तीव्र पारिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी, विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) की प्रतिनिधि डा सोनिया भगत, प्रादेशिक अस्पताल भद्रपुरकी डा.सङ्गीता साह सहितको विज्ञ टोलीले मेचीनगरमा पुगेर स्थलगत अनुगमन र छलफल गरेको छ ।
टोलीले नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी र समुदायसँगको अन्तरक्रियामार्फत सङ्क्रमण नियन्त्रणका उपायहरू प्रस्तुत गरेको हो ।
नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले स्वास्थ्यकर्मीलाई घर–घर पुगेर सचेतना जगाउन निर्देशन दिएका छन् भने उपप्रमुख मीना उप्रेतीले आवश्यक परेमा भद्रपुर प्रादेशिक अस्पतालमा समेत उपचारको व्यवस्था मिलाउने बताएकी छन् ।
प्रतिक्रिया