महेन्द्र विष्टलाई कृष्णप्रसाद सिग्देल पत्रकारिता पुरस्कार

मंगलबार, २७ साउन २०८२

विराटनगर : नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष महेन्द्र विष्टलाई कृष्णप्रसाद सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। गोरखापत्र दैनिकमा कार्यरत विष्टलाई मंगलबार विराटनगरमा आयोजित १६औं स्मृतिसभामा नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले २१ हजार रुपैयाँ राशिसहित सम्मान गरे।

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै ज्ञवालीले राजनीतिक दलहरूले मुलुकको अर्थतन्त्र बलियो बनाउन र जनताको जीवनस्तर उकास्न ध्यान दिनुपर्नेमा जोड दिए। उनले “मुलुकमा केही भएको छैन” भन्ने धारणा गलत भएको दाबी गर्दै सन् २०२६ मा नेपाल विकासशील देशमा परिणत हुने विश्वास व्यक्त गरे।

पूर्वमन्त्री ज्ञवालीले मधेश प्रदेशमा खेतीका लागि आकाशे वर्षाको निर्भरता अन्त्य गर्न केही वर्षभित्र सुनकोशी डाइभर्सन निर्माण गरेर १ लाख ८२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइने जानकारी दिए। विराटनगर महानगरका मेयर नागेश कोइरालाले संघीयतापछि मुलुक विकासको बाटोमा अघि बढेको बताए।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देल, उद्यमी चेतन निरौला, एमाले नेता विनोद ढकाल, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीलगायतले कृष्णप्रसाद सिग्देलको संघर्षपूर्ण जीवन स्मरण गरे। उनीहरूले सिग्देलले सडकबाट व्यापार सुरु गरेर आज ३ सय जनालाई रोजगारी दिने संस्थापन गरेको उल्लेख गर्दै उनलाई प्रेरणाको स्रोतका रूपमा व्याख्या गरे।

सो अवसरमा उपमहासचिव ज्ञवालीले नेपाल साना तथा घरेलु उद्योग संघ मोरङका चेतन निरौला, महिला उद्यमी अम्बिता भण्डारी, जनता उच्च मावि मधुवन सुनसरीका विद्यार्थी पिंकी खत्वे, सुशील खत्वे तथा स्वस्तिका ट्रान्सपोर्ट प्रा.लि.का मजदुरलाई कपडा तथा नगदसहित सम्मान गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार