विराटनगर । विराटनगरलगायत मोरङ जिल्लाका विभिन्न स्थानमा भइरहेका प्रदर्शन र आन्दोलनका कारण सार्वजनिक शान्ति सुरक्षामा असर पर्न सक्ने देखिएकाले स्थानीय प्रशासनले बिहान ११ बजेदेखि कर्फ्यु आदेश लागू गरेको छ ।
जिल्ला सुरक्षा समितिको मंगलबार बिहान बसेको बैठकको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम विहान ११ बजेदेखि बेलुकी १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार तोकिएका क्षेत्रमा सभा, जुलुस, धर्ना, प्रदर्शन वा भिडभाड गर्न पूर्ण निषेध गरिएको छ ।
सर्वसाधारणले भने सामान्य आवतजावत र सवारीसाधन सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ । उनले आदेश उल्लंघन गर्नेहरूमाथि प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनीसमेत दिए ।
स्थानीय प्रशासनले प्रदर्शन तथा आन्दोलनका क्रममा हिंसात्मक गतिविधि, हुलदंगा र अशान्ति हुनसक्ने भन्दै यस्तो कदम चालेको स्पष्ट पारेको छ । प्रदेशसभा भवन क्षेत्र पूर्वमा नेपाल राष्ट्र बैंकदेखि पश्चिममा कोशी अस्पताल चोकसम्म कर्फ्यु लगाइएको छ । मुख्यमन्त्री कार्यालय क्षेत्र उत्तरमा रोडशेष चोकदेखि दक्षिणमा जतुवा चोक (कोभिड अस्पताल नजिक), मुख्यमन्त्री निवास क्षेत्र उत्तरमा रोडशेषदेखि दक्षिणमा सिँचाइ मन्त्रालयतर्फ जाने बाटोसम्म कर्फ्यु लगाइएको छ ।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालय क्षेत्र उत्तरमा शनिहाटदेखि दक्षिणमा टेलिकम मोड र पश्चिममा गोल्छा आँखा अस्पतालसम्म रहनेछ । विराटनगर महानगरपालिका क्षेत्र पूर्वमा शनिहाट चोकदेखि उत्तरमा विराटेश्वर मन्दिर, दक्षिणमा गोल्छाचोकसम्म तोकिएको छ । प्रदेश प्रमुख कार्यालय क्षेत्र पूर्वमा नहर क्षेत्रदेखि पश्चिममा कोशी राजमार्गसम्म पर्नेछ ।
प्रदेश प्रमुख निवास क्षेत्र उत्तरमा मदननगरदेखि दक्षिणमा मानगढ खानेपानी र पश्चिममा नहर वरपरको ३०० मिटर क्षेत्रभित्र कर्फ्यु जारी गरिएको छ । साथै, एकीकृत भन्सार जाँच चौकी (आईसीपी) वरिपरि ३०० मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ । कर्फ्यु बिहान ११ बजेदेखि राति १० बजेसम्म लागू हुने छ ।
प्रतिक्रिया