काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् ।
आन्दोलनका क्रममा काठमाडौँको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड भएपछि शुक्रवार निरीक्षणमा पुगेका मन्त्री घिसिङले सरकारका विभिन्न पूर्वाधार र निजी सम्पत्तिहरूमा व्यापक क्षति पुगेको जानकारी दिए ।
‘देशैभरि सरकारी संरचनाहरू ध्वस्त भएका छन्, जलेका छन्,’मन्त्री घिसिङले भने, ‘अब हामी सबैले यी संरचनाहरू हामी आफैँले बनाउने सङ्कल्प गर्नुपर्छ । सरसफाइ अभियान र पुनर्निर्माण अभियानलाई देशैभरि निरन्तरता दिनुपर्छ । यो अभियान देश निर्माणको अभियान हो ।’
उनले करिब डेढदेखि दुई खर्ब रुपैयाँ बराबरको संरचना नष्ट भएको अनुमान गरिएको बताए । यस्ता संरचनाको पुनर्निर्माणका लागि श्रमदान तथा आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले देशभित्र तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई ऐक्यबद्धता जनाउन आग्रह गरे ।
सरकारले पुनर्निर्माण कोष स्थापना गरिसकेको जानकारी दिँदै मन्त्री घिसिङले उक्त कोषमा इच्छाअनुसार आर्थिक सहयोग गर्न सबैमा आग्रह गरे ।
सरसफाई अभियान र पुनर्निर्माण अभियानलाई हामीले देशैभरी जारी राख्नुपर्छ । यो अभियान देश बढाउने अभियान हो । यो अभियानमा देशमा र विदेशमा रहेका नेपालीहरूले ऐक्यबद्धता जाहेर गरेर अगाडि बढ्न पनि अनुरोध गर्दछु । करिब करिब डेढ दुई खर्ब बढीको संरचनाहरू ध्वस्त भएका छन् । यी ध्वस्त भएका संरचनाहरूलाई हामी नेपालीहरूले नै श्रमदानबाट र आर्थिक सहयोग जुटाएर नेपालीहरूले नै बनाउनुपर्ने काँधमा आएको छ ।’
यसअघि विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा सरकारी भवन, सवारी साधन तथा अन्य सार्वजनिक सम्पत्तिहरूमा क्षति पु¥याइएको थियो । सरकारले पुनर्निर्माण र सुधारका लागि आवश्यक पहल सुरु गरिसकेको छ ।
प्रतिक्रिया