 
                            काठमाडौँ : नवघोषित कुमारी आर्यतारा शाक्यले मङ्गलवार कुमारीघरमा आसन ग्रहण गर्ने भएकी छन्।
स्थानीय इटुम्बहालकी साढे दुई वर्षीया आर्यतारालाई मध्याह्नको शुभसाइतमा विधिविधानपूर्वक कुमारीघरमा प्रवेश गराई आसन ग्रहण गराउने तयारी पूरा भएको कुमारीघर व्यवस्थापन समितिले जनाएको छ।
विशेष बाजागाजासहित आसन गराएपछि उनलाई तलेजु भवानीको दर्शनका लागि मन्दिरमा लगिने समितिका संयोजक गौतम शाक्यले जानकारी दिए।
उनका अनुसार जीवित देवीका रूपमा पुजिने कुमारीलाई महालक्ष्मीको प्रतीकसमेत मानिन्छ। ऐतिहासिक रूपमा तत्कालीन राजा जयप्रकाश मल्लले कुमारी प्रथाको सुरुवात गरेको मानिन्छ।
कुमारी छनोट प्रक्रिया गुठी संस्थान, पञ्चाङ्ग निर्णायक समिति र सरोकार भएका पक्षसँगको सल्लाहपछि सम्पन्न गरिएको थियो। यस क्रममा सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचार गरिएको समितिले जनाएको छ।
परम्पराअनुसार कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले पनि नवकुमारीको दर्शन गर्ने प्रचलन रहिआएको छ।
प्रतिक्रिया