पर्दा पछाडिका ‘हिरो’हरू

आइतबार, २३ कार्तिक २०८२

काठमाडौंः पर्दामा देखिने कलाकारहरूको अभिनयले दर्शकलाई आकर्षित गर्छ भन्ने सबैले अनुभूति गरेकै विषय हो  । तर, चलचित्रमा देखिने दृश्यलाई सुन्दर र प्रभावकारी बनाउन पर्दापछाडि काम गर्ने प्राविधिकको भूमिकाका बारेमा धेरैलाई थाहा हुँदैन । 

प्रभावकारी ‘टिम स्प्रिट’का साथ निर्मण हुने चलचित्रमा पर्दापछाडि काम गर्ने निर्देशक, मुख्य सहायक र सहायक निर्देशकको जिम्मेवारी तथा भूमिका महत्वपूर्ण हुने भए पनि ती सदैव ओझेल परिरहेका हुन्छन् ।

मुख्यतः धेरैले पर्दा पछाडिका ‘हिरो’ भनेर निर्देशकलाई चिन्ने गर्छन् । किनकि निर्देशक नै चलचित्र तयार गर्ने ‘टिम क्याप्टेन’ हुन् । तर, पर्दाभित्र रही निर्देशकलाई पनि सघाउने मुख्य सहायक तथा सहायक निर्देशकहरू आम दर्शकमाझ अपरिचित  तथा गुमनाम हुन्छन् ।

चलचित्रको व्यवस्थापनदेखि कलाकारको तालिम, संवाद र दृश्य व्यवस्थापनसम्म उनीहरू सक्रिय रहन्छन् । निर्देशकको योजना र भिजनलाई छायाङ्कन सेटमा कार्यान्वयन गराउने मुख्य व्यक्ति उनीहरू नै हुन् । 

छायाङ्कनको तालिका तयार पार्ने, कलाकार र प्राविधिकबीच समन्वय गर्ने र दृश्यको तयारी सुनिश्चित गर्नु उहाँहरूको जिम्मेवारी हो । यदि निर्देशक चलचित्रको कप्तान हुन् भने सहायक निर्देशकहरू खेलमैदानमा रणनीति कार्यान्वयन गराउने खेलाडी हुन् ।

हामीले सामान्यता देख्ने ‘क्ल्याप ब्वाई’ देखि ‘एक्सन कट’ भन्ने निर्देशकसम्मकै मेहनतले एउटा चलचित्रलाई पूर्ण बनाउन मद्दत गर्छ । तर, निर्देशकको चर्चा भए तापनि मुख्य सहायक वा सहायक निर्देशकको विरलै चर्चा हुने गर्छ ।

‘पर्दा पछाडिका हिरो’ का रुपमा चिनिने उनीहरूले मेहनत धेरै र चर्चा कम पाउने गर्छन् । विगत डेढ दशकदेखि ‘क्ल्याप ब्वाई’ हुँदै मुख्य सहायक निर्देशकसम्म भूमिका निर्वाह गरिसकेका फिरोज खड्काका अनुसार निर्देशक र कलाकार बीचको पुलको काम सहायक निर्देशकहरूले गर्दछन् ।  

“सहायक निर्देशकका रुपमा जति मेहनत गर्न सक्यो त्यति नै काम सिकिन्छ । तर, निर्देशकको विश्वास जितेर काम गर्न सक्नुपर्छ । आफ्नो कामसँगै अन्य काममा पनि आफ्नो सहभागिता देखाउन सक्नुपर्छ, किनकि सहायक निर्देशक भए पनि निर्देशककै समूहमा रहेर काम गरिरहेका हुन्छौँ”, मुख्य सहायक निर्देशक खड्काले भने ।

उनका अनुसार दृश्यको निरन्तरता, एउटा दृश्यमा देखिने सम्पूर्ण समान र कलाकारको भावको निरन्तरतासँगै कलाकारलाई पात्रसँग जोड्ने काम सहायक निर्देशकहरूकै हुन्छ । उनले चलचित्र ‘भगवान् सबैको’ मार्फत निर्देशक विभागमा कामको सुरुआत गरेका थिए । 

त्यसयता ‘गुडबाई काठमाडौँ’, ‘लूट’, ‘सेतो सूर्य’, ‘राजगञ्ज’ लगायतका लोकप्रिय चलचित्रहरूमा उहाँले काम गरिसकेका छन् । उनी पछिल्लो समय खोजिने मुख्य सहायक निर्देशकको रुपमा परिचित छन् । प्रायः निर्देशक निश्चल बस्नेतको मुख्य सहायक भएर उहाँले काम गर्दैै आएका छन् । 

“निर्देशक बस्नेतसँग सुरुआती दिनदेखि नै काम गरेकाले पनि हामी सहज भयौँ, उहाँले पनि विश्वास गर्नुभयो । त्यसकारण उहाँका चलचित्रमा मैले मुख्य सहायक निर्देशक भएर काम गरेको छु । राम्रो निर्देशकहरूसँग काम गर्न पाउँदा हामीले पनि सिक्दै, बुझ्दै आफूलाई परिपक्व बनाउन सक्छौँ”, उनले भनेका छन् । 

निर्देशन विभागमै रहेर डेढ दशक काम गरिसक्नुभएका अर्का निर्देशक हुन्, अनिल खड्का । उनले पनि धेरै चलचित्रमा सहायक र मुख्य सहायक निर्देशकका भूमिका निर्वाह गरिसके । केही चलचित्रमा निर्देशकले विश्वास गरेर उनलाई दृश्य निर्देशन गर्न पनि प्रेरित गरेका छन् । 

“हामीले निर्देशककै अन्तर्गत रहेर काम गर्छौं । कलाकार र निर्देशक बीचको सहजीकरणसँगै निर्देशककै आँखा बनेर हामीले काम गरिरहेका हुन्छौँ । त्यसले हामीलाई काम गर्ने शैलीबारे अवगत गराउनाका साथै कठिनाइसँग पनि जानकार गराउँछ”, उनले भने । 

मुख्य सहायक निर्देशककै रुपमा काम गरिरहेका फिरोज खड्का पनि पटकथाको खोजीमा छन् । आफूले खोजेजस्तो पटकथा पाएमा आएको निर्देशकको प्रस्तावलाई स्वीकार गर्ने उनको भनाई छ । 

यस्तै मुख्य सहायक निर्देशकका रुपमा लामो समय काम गर्नुभएका वसन्त अधिकारीले ‘जानी नजानी’ चलचित्रमार्फत निर्देशक बने ।

अधिकारीले चलचित्रमा ध्वनि, वेशभूषालगायतका विभागमा काम गरेपछि मात्र निर्देशन विभागमा काम गर्ने अवसर पाएका थिए । विदेशतिर चलचित्रमा व्यावसायिक घरानाको लगानी हुने भएकाले निर्देशकहरूले नै आफ्ना सहायक निर्देशकलाई निर्देशकका रुपमा अगाडि ल्याउने चलन छ । तर, नेपालमा भने त्यस्तो परिपाटी नरहेको उनको भनाइ छ ।

यस्तै काम गरेर निर्देशक बनेका भद्र भुजेल, सम्राट शाक्य, मुस्कान ढकाललगायतका निर्देशकले आफ्नो पेसालाई निरन्तरता दिन कठिनाइको सामना गरिरहेका छन् । त्यसकारण पनि केही साहायक निर्देशकहरू पूर्णरुपमा निर्देशक बन्न तयार देखिएका छैनन् । उनीहरू निर्देशकीय चलचित्र व्यावसायिक रुपमा असफल भएमा चलचित्र निर्देशनसँगै निर्मातालाई रिझाउनुपर्ने दबाब हुने बताउँछन् ।

राससको सहयोगमा 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार