राष्ट्रिय माध्यमिक विद्यालयमा ९५ विद्यार्थीलाई छात्रवृत्ति वितरण

शनिबार, १३ मंसिर २०८२

इटहरी : इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ७०औँ वार्षिकोत्सवको अवसरमा ९५ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ। बाल विकासदेखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीलाई दाताले स्थापना गरेका अक्षयकोषबाट प्राप्त ब्याज रकम बराबरको छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ। विद्यालयमा हालसम्म ३७ वटा अक्षयकोष स्थापना भएका छन्।

कार्यक्रममा शैक्षिक तथा सह–शैक्षिक गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। दाताले स्थापना गरेको अक्षयकोषबाट उत्कृष्ट शिक्षण गर्ने शिक्षक–शिक्षिकामध्ये खगिनकुमार चौधरी, सागर कट्वाल र युनिसा बस्नेतलाई नगदसहित सम्मान गरिएको विद्यालय प्रशासनले बतायो। अन्तिम परीक्षामा विद्यार्थीले प्राप्त गरेको नतिजाका आधारमा उनीहरूलाई छनोट गरिएको हो।

त्यसैगरी, बढी समय विद्यालय उपस्थित हुने शिक्षक–शिक्षिकामध्ये सावित्रा श्रेष्ठ, इन्दिरा थापा र कुमारी भारतलाई पनि नगदसहित सम्मान गरिएको थियो। विद्यालयको तर्फबाट विभिन्न श्रेणीमा उत्कृष्ट कार्य गर्ने रोशना नेपाल, वन्दना दाहाल, अन्तिम राई, लोकबहादुर भण्डारी, भूपराज पुरी र लक्ष्मण घिमिरेले पनि सम्मान पाए।

वार्षिकोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गरी महत्वपूर्ण योगदान पुर्‍याउने नौजना व्यक्तित्वलाई मरणोपरान्त सम्मान गरिएको छ। परिवारका सदस्यहरूले सम्मानपत्र ग्रहण गरेका थिए। यस वर्ष मात्रै विद्यालयमा छ वटा नयाँ अक्षयकोष थपिएको प्रधानाध्यापक सरनकुमार बस्नेतले जानकारी दिए।

विद्यालयले यस वर्षदेखि ‘टिचर अफ दि इयर’ र ‘स्टुडेन्ट अफ दि इयर’ घोषणा सुरु गरेको छ। शिक्षकतर्फ यूवराज काफ्ले र विद्यार्थी तर्फ कक्षा ९ का कृष्ण खनाल पहिलोपटक सम्मानित भएका छन्।

कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को वार्षिक आय–व्यय सार्वजनिक गरिएको थियो। विद्यालयको आय चार करोड ८८ लाख ९६ हजार १४६ रुपैयाँ र व्यय चार करोड ८७ लाख ५० हजार ७२ रुपैयाँ रहेको जनाएको छ।

सोही अवसरमा भूतपूर्व विद्यार्थीले २० लाख रुपैयाँ खर्चेर निर्माण गर्न लागिएको सभाहलको शिलान्यास पनि गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री षडानन्द मण्डलले विद्यालयले गरेको प्रगतिशील कार्यको प्रशंसा गर्दै प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाए।

साताव्यापी खेलकुद प्रतियोगितासँगै सम्पन्न भएको वार्षिकोत्सवमा ५१ विधामा उत्कृष्ट बनेका ३०० विद्यार्थीलाई दैनिक रुपमा पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार