भैरहवा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला कारागार भैरहवाबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशअनुसार बैंक जमानतसहित धरौटी बुझाएपछि उनी रिहा भएका हुन् ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराधको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालतले हिजो धरौटीमा छाड्न आदेश दिएको थियो । सोही आदेशअनुसार बिगो बापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनलाई रिहा गरिएको रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिए ।
काठमाडौंबाट हवाईजहाजमार्फत भैरहवा आउने तयारी भए पनि खराब मौसमका कारण लामिछाने चितवनसम्म जहाजमा आएका थिए । त्यसपछि उनी सडकमार्ग हुँदै साँझ पौने ६ बजे भैरहवा कारागार पुगेका थिए ।
कारागारबाट रिहा भएपछि प्रतिक्रिया दिँदै लामिछानेले न्यायको लडाइँ अझै बाँकी रहेको बताएका छन् । आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यायको तुलनामा केही पनि नभएको उल्लेख गर्दै उनले उचित समयमा सबै हिसाबकिताब गर्ने बताए ।
उनले भने,
‘न्यायको यो लडाइँ मेरो बाँकी नै छ । मैले अझ धेरै लड्न बाँकी छ । मैले लड्नुपर्छ भनेको मेरा लागि मात्रै होइन, तपाईंहरूका लागि, यो देशको न्यायका लागि हो । यिनीहरूले यो देशमाथि गरेको अन्यायको अगाडि ममाथि गरेको अन्याय केही पनि होइन । त्यसको हिसाब गर्न बाँकी नै छ ।’
आफू बोल्ने समय आउने संकेत गर्दै लामिछानेले अहिलेका लागि यति मात्रै भन्न चाहेको बताए ।
‘हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ,’ उनले भने ।
लामिछाने कारागार आइपुग्दा र रिहा भएपछि रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूले हुटिङ गर्दै खुशियाली मनाएका थिए ।
प्रतिक्रिया