सुर्खेत : एउटै कार्यक्रममा संघीय सरकारका गृह मन्त्री र प्रदेश सरकारका मुख्य मन्त्रीले आगामी निर्वाचनका विषयमा फरक फरक धारणा राखेका छन् । कर्णाली प्रदेश केन्द्रित प्रदेशस्तरीय सुरक्षा गोष्ठीका प्रमुख अतिथी नेपाल सरकारका गृह मन्त्री ओमप्रकाश अर्यालले तोकिएकै मितिमा निर्वाचन हँुने दावी गरेका हुन भने कार्यक्रमका विशिष्ट अतिथी रहेका प्रदेशका मुख्य मन्त्री यामलाल कँडेलले प्रमुख राजनितिक शक्तिलाई पाखा लगाएर चुनाव हुन नसक्ने दावी गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउन प्रतिबद्ध भएको बताइरहँदा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मुलुकका प्रमुख राजनीतिक शक्तिलाई पाखा लगाएर कसरी चुनाव गराउन सकिन्छ ? भनेर प्रश्न गरे ।
गृहमन्त्री अर्यालले सरकारको प्रमुख काम निर्वाचन सफलतापूर्वक कार्यान्वयन गर्नु रहेको भन्दै निर्धारित मितिमै स्वतन्त्र, निष्पक्ष र भय–रहित रूपमा निर्वाचन सम्पन्न गराउन सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । ‘जेनजी आन्दोलनको बलमा बनेको यो सरकारका लागि घोषित मितिमा निर्वाचन गर्नु प्रमुख कार्यभार हो’ गृहमन्त्री अर्यालले थपे, ‘मौसम प्रतिकुलताका कारण एकाध स्थानमा निर्वाचन हुन नसके पनि सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी तयारी गरिरहेको छ र चुनावका लागि राजनीतिक दलहरु पनि क्रमिक रुपमा तयारीमा लागेको भनाई राखेका थिए ।
सोही कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रमुख राजनीतिक दलहरुलाई पाखा राखेर निर्वाचन गराउने सोच त्याग्न सरकारलाई सुझाव दिए । उनले ‘निर्वाचनको विषयमा थुप्रै शस्काहरु उत्पन्न भएका छन्’ समेत भने, ‘दलहरूबीचको सहमतिले मात्र निर्वाचनको वातावरण बनाउन सकिन्छ भन्दै दलहरुलाई पाखा लगाएर निर्वाचन गर्न सकिने अवस्था रहँदैन ।’ सरकारका कतिपय गतिविधिकै कारण निर्वाचनको वातावरण तयार नभएको कँडेलले तर्क गरे । भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षाको प्रत्याभूति हुनु प्रमुख विषय भएको भन्दै वर्तमान सुरक्षा अवस्थाले भयरहित वातावरण बन्न नसकेको मुख्य मन्त्री कँडेलको भनाई रहेको थियो । सुरक्षाकर्मीमा समेत मनोवैज्ञानिक त्रास रहेको भन्दै निर्वाचनको वातावरण बनाउन सुरक्षाकर्मी त्रसित मनोविज्ञानबाट मुक्त हुनुपर्ने मुख्यमन्त्रीले धारणा राखे ।
कार्यक्रममा प्रदेश प्रमुख सचिव वीरेन्द्रकुमार यादव, नेपाली सेनाका बलाधिकृत रथी प्रदिपजंग केसी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक टेकेन्द्र कार्की, र पृतनापति उपरथी दीपेशजंग थापा लगायतको उपस्थिति रहेको थियो । गोष्ठिमा कर्णालीको विशिष्ट सुरक्षा चुनौती विश्लेषण गरी रणनीति तयार गरिने जनाइएको छ । गोष्ठिमा कर्णालीका १० वटै जिल्लाका सुरक्षा अधिकारीहरूले जिल्लागत सुरक्षा चुनौतीबारे प्रस्तुतीकरण दिने छन् ।
प्रतिक्रिया