इटहरी । धरान उप–महानगरपालिका–६ पानबारी चोक क्षेत्रमा राखिएको एक बेवारिसे कारबाट प्रहरीले १८० किलोग्राम गाँजा बरामद गरेको छ। आज (बिहिवार) बिहान करिब ४:३० बजेतिर इलाका प्रहरी कार्यालय धरानबाट खटिएको गस्ती टोलीले चेकजाँचका क्रममा उक्त गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार बा.१३ च. ३६८४ नम्बरको कार पानबारी चोकटि क्षेत्रमा लामो समयदेखि बेवारिसे अवस्थामा राखिएको देखिएपछि गस्ती टोलीले शङ्का गरी तलासी लिएको थियो। तलासीको क्रममा कारभित्र बोरामा राखिएको अवस्थामा १८० केजी गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ।
बरामद गरिएको गाँजा सहित सो कारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। हाल घटनाबारे थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले उक्त लागू औषध कसले राखेको हो, कार कसको नाममा दर्ता छ र गाँजा कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताएको छ।
प्रतिक्रिया