काठमाडौँ : पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको सङ्ख्या क्रमशः घट्दै गएको छ । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य देशहरूले आप्रवासी नागरिक भित्र्याउने प्रक्रियामा कडाइ गरेसँगै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या घट्न थालेको हो ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको मासिक तथ्याङ्कअनुसार गत असोज र कात्तिकपछि मङ्सिरमा पनि श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सङ्ख्या थप घटेको देखिएको छ ।
वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२–८३ को मङ्सिर महिनामा जम्मा ६५ हजार ७ सय ५ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । यो सङ्ख्या अघिल्लो महिना कात्तिकको तुलनामा ७ हजार ३ सयले कम हो । कात्तिक महिनामा कुल ७३ हजार ९४ जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका थिए ।
चालु आवको मङ्सिरमा नयाँ श्रम स्वीकृति लिएर जाने नेपाली कामदारको सङ्ख्या भने केही बढेको देखिएको छ । मङ्सिरमा २९ हजार ६ सय १८ जनाले नयाँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो महिना कात्तिकमा नयाँ श्रम स्वीकृति लिने कामदारको सङ्ख्या २२ हजार ५ सय १५ जना थियो ।
सोही अवधिमा पुनः श्रम स्वीकृति लिने कामदारको सङ्ख्या भने अघिल्लो महिना कात्तिकको तुलनामा मङ्सिरमा झन् घटेको देखिएको छ । कात्तिकमा ५० हजार ५ सय ८० जनाले पुनः श्रम स्वीकृति लिएका थिए भने मङ्सिरमा यो सङ्ख्या घटेर ३६ हजार ८७ जनामा सीमित भएको छ ।
गत भदौमा भएको जेन–जी आन्दोलनपछि संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली कामदारको चाप बढे पनि प्रहरी प्रतिवेदन प्रमाणीकरणको झन्झटिलो प्रक्रिया र लागत खर्चसमेत बढाइएकाले कामदार जाने क्रम केही घटेको विभागले जनाएको छ ।
पहिले साउदी अरबका लागि कन्सुलर विभागमार्फत प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्दा प्रतिव्यक्ति ५ सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो । तर हाल युएई दूतावासमार्फत प्रमाणीकरण गर्नुपर्ने व्यवस्था भएपछि शुल्क बढेर प्रतिव्यक्ति झन्डै १४ हजार रुपैयाँसम्म पुगेको भन्दै सम्बन्धित कामदारहरूले गुनासो गरेका छन् ।
विभागको तथ्याङ्कअनुसार मङ्सिरमा सबैभन्दा धेरै नेपाली कामदार साउदी अरब गएका छन् । मङ्सिर महिनामा साउदीमा ६ हजार ४ सय ४२ जना श्रम स्वीकृति लिएर गएका छन् । साउदीपछि कतारमा ३ हजार ८ सय ६१ जना, युएईमा २ हजार ३ सय ४२ जना र मलेसियामा ३ हजार ४ सय ४० जना नेपाली कामदार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् ।
गत आर्थिक वर्ष २०८१–८२ मा साउदी अरबमा कुल १ लाख ५२ हजार ५ सय ५७ जना नेपाली कामदार व्यक्तिगत, संस्थागत तथा पुनः श्रम स्वीकृति लिएर गएका थिए । त्यसअघिल्लो आर्थिक वर्ष २०८०–८१ मा यो सङ्ख्या १ लाख ४१ हजार ५ सय २ थियो । साउदी अरबमा घरेलु कामदारबाहेक करिब ४ लाख नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।
सरकारी विवरणअनुसार ६० प्रतिशतभन्दा बढी नेपाली कामदार अदक्ष श्रमिकका रूपमा कार्यरत छन् । उनीहरू निर्माण, सरसफाइ, प्याकेजिङ, लोडिङ, डेलिभरीलगायतका काममा जाने गरेका छन् । यसबाहेक ड्राइभिङ, मेसिन अपरेटर, सेल्स तथा उत्पादन क्षेत्रमा पनि धेरै नेपाली कामदार जाने गरेका छन् ।
सरकारले साउदी अरबसँग सन् २०२६ को सुरुवाती महिना पुसमा दुईपक्षीय श्रम सम्झौता गर्ने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार आगामी जनवरीभित्रै साउदीसँग नयाँ श्रम सम्झौता गर्ने तयारी भइरहेको छ ।
गत बुधवार श्रममन्त्री राजेन्द्रसिंह भण्डारी र नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलनासर बिन हुसेन अल–हार्थिबीच भएको भेटमा श्रम सम्झौताको तयारीबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।
आगामी जनवरी २६ र २७ मा साउदी अरबमा ‘ग्लोबल लेबर मार्केट सम्मेलन–२०२६’ आयोजना हुँदै छ । सो सम्मेलनमा सहभागी हुने क्रममा श्रम सम्झौतापत्रमा हस्ताक्षर गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ ।
साउदीसँग हुने यो पहिलो श्रम सम्झौतामा नेपाली कामदारको हकहित, सुरक्षा तथा श्रम कूटनीतिका आधारभूत विषय समेटिने मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले अन्य देशसँग भएका समझदारीजस्तै आधारभूत सम्झौता हुने जानकारी दिए ।
वैधानिक रूपमा श्रम स्वीकृति लिएर जाने नेपाली कामदारलाई व्यवस्थित र सुरक्षित बनाउने एजेन्डा नै सम्झौतामा समावेश गरिने उनले बताए । मानवअधिकार, सुरक्षा संयन्त्रमा समस्या आए संयुक्त संयन्त्रमार्फत समाधान गर्ने प्रावधानसमेत रहने जनाइएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम) का मापदण्डअनुसार श्रम सम्झौता हुने मन्त्रालयले जनाएको छ ।
२०६५ सालमै साउदीसँग श्रम सम्झौताका लागि पहिलोपटक छलफल सुरु भए पनि विभिन्न कारणले सम्झौता हुन सकेको थिएन । २०७२ पछि साउदीले घरेलु कामदार प्रतिबन्ध खुलाउन सर्त राखेपछि नेपाल–साउदी श्रम सम्झौता थप जटिल बनेको सरोकारवालाहरू बताउँछन् ।
विगत डेढ दशकदेखि प्रयास हुँदै आए पनि श्रम सम्झौता नहुँदा साउदी अरबमा कार्यरत नेपाली कामदारले जबर्जस्ती श्रम, पारिश्रमिक नपाउने, शारीरिक दुर्व्यवहारजस्ता समस्या भोग्दै आएको मानवअधिकारकर्मीहरूको भनाइ छ ।
आगामी सन् २०३४ को फिफा विश्वकप आयोजना तयारीसँगै ठुलो पूर्वाधार निर्माणका लागि साउदीलाई ठुलो सङ्ख्यामा आप्रवासी श्रमिक आवश्यक पर्ने भएकाले अब नेपालीसँग श्रम सम्झौतामा साउदी तयार भएको सरोकारवालाहरूले बताएका छन् ।
अब हुने श्रम सम्झौतापछि दुवै मुलुक कानुनी दायरामा बाँधिने भएकाले साउदीमा कार्यरत नेपाली कामदारले भोग्दै आएका समस्या समाधान हुने मन्त्रालयको अपेक्षा छ ।
प्रतिक्रिया