झापामा रगतको अभाव हुन नदिने रेडक्रसको संकल्प

‘शरीरमै रगत स्टक’ राख्ने अभ्यास

सोमबार, १४ पुस २०८२

झापा :  मध्यरात होस् होस् या साँझ बिहान किन नहोस् –  झापाका ब्लड बैंकहरुमा एउटा साझा प्रश्न बारम्बार दोहोरिन्छ – रगत छ ? सुत्केरी कक्षदेखि आकस्मिक कक्ष, दुर्घटनाबाट घाइते बिरामीदेखि दीर्घरोगसँग जुधिरहेका युवासम्म, रगत – जीवन र मृत्युबीचको साँघुरो पुल बनेको छ । यही पुल मजबुत बनाइराख्ने जिम्मेवारी नेपाल रेडक्रस सोसाइटी झापा शाखाले वर्षौँदेखि निभाउँदै आएको छ ।

 रगत अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्था आज पनि नेपालका धेरै जिल्लामा चुनौतीकै रूपमा देखिन्छ । तर, पूर्वी तराईको प्रमुख जिल्ला झापामा भने यस्तो अवस्था आउन नदिने जिम्मेवारी नेपाल रेडक्रस सोसाइटी झापा शाखाले निरन्तर रूपमा निभाउँदै आएको छ ।

 जिल्लामा सञ्चालित छ वटा ब्लड बैंक, आधुनिक प्रविधिको प्रयोग, स्वयंसेवक र रक्तदाताको सक्रियता तथा स्थानीय तहसँगको सहकार्यले झापालाई रगत आपूर्तिको केन्द्रका रूपमा स्थापित गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालका अनुसार जिल्लामा वार्षिक करिब २० हजार युनिट रगत खपत हुन्छ । यो संख्या झापाको जनघनत्व, स्वास्थ्य सेवाको पहुँच र उपचारका क्रममा फ्रेस ब्लडको बढ्दो मागसँग जोडिएको छ ।

‘झापामा धेरैजसो अवस्थामा फ्रेस ब्लडको माग हुन्छ,’ नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति ढकाल भन्नुहुन्छ– ‘त्यस्तो अवस्थामा हामी अनकल (डाइरेक्ट डोनेसन) मार्फत पनि तत्काल रगत उपलब्ध गराउँदै आएका छौं ।’

झापाको भद्रपुर र बिर्तामोडस्थित ब्लड बैंकमा जडान गरिएको कम्पोनेन्ट मेसिनले रगत व्यवस्थापनलाई अझ प्रभावकारी बनाएको उहाँको भनाई छ ।

एक पोक रगतबाट प्लेटलेट, डब्लूआरबीसी र प्लाज्मा छुट्याएर आवश्यकता अनुसार प्रयोग गर्न सकिने भएकाले कहिलेकाहीँ एउटै रगतबाट तीनदेखि चार जनासम्मको उपचार सम्भव भएको छ । यस प्रविधिले रगतको सदुपयोग मात्र होइन, बिरामीको उपचारमा पनि गुणस्तरीय सेवा उपलब्ध गराएको सभापति ढकालको भनाई छ ।

कम्पोनेन्टसहित गणना गर्दा झापा शाखाले वार्षिक करिब २५ हजार जनालाई रगत उपलब्ध गराउँदै आएको छ । सर्जरी, सुत्केरी, दुर्घटना, क्यान्सर तथा दीर्घरोगका बिरामीका लागि रेडक्रसको यो सेवा जीवनरक्षक बनेको छ ।

जिल्लाबाहिर पनि झापाको रगत

नेपाल रेडक्रस सोसाइटी झापा शाखाले संकलन गरेको रगत झापा जिल्लाभित्र मात्र सीमित छैन । इलाम, पाँचथरलगायत पूर्वी पहाडी जिल्ला, धरान, विराटनगर, लाहान हुँदै काठमाडौंसम्म रगत पठाउने गरिएको छ । राजधानीमा आकस्मिक रूपमा रगत आवश्यक परेमा हवाई माध्यमबाट समेत रगत पठाउने व्यवस्था गरिएको सभापति ढकालले बताउनुभयो । यसले झापालाई पूर्वको मात्र होइन, राष्ट्रिय स्तरकै महत्वपूर्ण रगत आपूर्ति केन्द्रका रूपमा चिनाएको छ ।

त्यसोत जेनजी आन्दोलनको समयमा काठमाडौंमा रगत अभाव हुँदा झापाबाट धेरै रगत पठाइएको थियो । झापाको बिर्तामोडमा संकलित रगत हवाई सेवा मार्फत काठमाडौं पुगेको थियो ।

पछिल्लो समय सीमावर्ती क्षेत्रका भारतीय नागरिकबाट समेत झापाका ब्लड बैंकमा रगतको माग बढ्दै गएको छ । भारतको दक्षिण क्षेत्रका नागरिकले भद्रपुर र पूर्वी क्षेत्रका नागरिकले बिर्तामोडबाट पायक पर्ने ठाउँ हेरेर रगत लिने गरेका छन् । सीमापारि समेत विश्वासिलो सेवा दिन सक्नु रेडक्रस झापाको अर्को उपलब्धि हो – उहाँले भन्नुभयो ।

झापामा हालसम्म रगत अभावका कारण कसैको मृत्यु हुन नपरेको रेडक्रसको दाबी छ । ‘र यो अवस्था आउन पनि दिँदैनौं,’ अध्यक्ष ढकाल भन्नुहुन्छ – ‘हामी सधैं स्टकमा करिब दुई सय पाउण्डसम्म रगत राख्ने प्रयासमा हुन्छौं ।’

यद्यपि, कहिलेकाहीँ नेगेटिभजस्ता दुर्लभ रक्त समूहको अभाव हुनसक्ने भए पनि तत्काल व्यवस्थापन गरिने रेडक्रसको भनाइ छ । त्यस्ता अवस्थामा विभिन्न रक्तदाता समूहसँग समन्वय गरी अनकलबाट रगत जुटाइन्छ उहाँले भन्नुभयो ।  नेगेटिभ रक्त समूह भएका व्यक्तिलाई आवश्यक परेमा मात्र रगत दान गर्न आग्रह गर्दै ‘शरीरमै रगत स्टक’ राख्ने अभ्यास गरिएको ढकालको भनाई छ ।

रक्तदान संस्कृतिको विस्तार

झापामा रक्तदान संस्कृतिको विस्तारमा विद्यार्थी र सामाजिक संघसंस्थाको भूमिका उल्लेखनीय छ । नेपाल रेडक्रस सोसाइटीले विशेषगरी क्याम्पसका विद्यार्थीलाई लक्षित गर्दै रक्तदान अभियान सञ्चालन गर्दै आएको छ । युवाको उत्साह, नियमित सहभागिता र सामाजिक चेतनाले रगत संकलनमा निरन्तरता पाएको रेडक्रसको अनुभव छ ।

ब्लड डोनर एसोसिएसनसहित विभिन्न सामाजिक संघसंस्थाले समय–समयमा आयोजना गर्ने रक्तदान कार्यक्रम रेडक्रसका लागि मुख्य आधार बनेका छन् । यस्ता कार्यक्रमले आकस्मिक अवस्थाका लागि आवश्यक रगतको मौज्दात कायम राख्न सहयोग पुगेको छ ।

स्थानीय तहसँग सहकार्य

पछिल्लो समय झापाका विभिन्न स्थानीय तहले रेडक्रससँग सहकार्य गर्दै आफ्ना नागरिकलाई सहज रूपमा रगत उपलब्ध गराउने अभ्यास थालेका छन् । भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, हल्दिवारी गाउँपालिकालगायतका पालिका र वडास्तरमा समेत रेडक्रससँग सहकार्य भइरहेको छ । स्थानीय तहले रक्तदान कार्यक्रम आयोजना गर्ने, आकस्मिक अवस्थामा खर्च व्यवस्थापनमा सहयोग गर्ने र नागरिकलाई सचेत गराउने भूमिका खेलिरहेका छन् ।

रेडक्रसले यसलाई अत्यन्त सकारात्मक अभ्यासको रूपमा लिएको छ । ‘स्थानीय तहको यो सहकार्यले रगत व्यवस्थापन अझ सुदृढ बनेको छ,’ सभापति ढकाल भन्नुहुन्छ – ‘यो मोडल अन्य जिल्लाका लागि पनि उदाहरणीय हुन सक्छ ।’

मानवताको साझा अभियान

नेपाल रेडक्रस सोसाइटी झापा शाखाको भूमिका रगत संकलन र वितरणमा मात्र सीमित छैन । स्वयंसेवक परिचालन, आपतकालीन व्यवस्थापन, जनचेतना अभिवृद्धि र संस्थागत समन्वयमार्फत रेडक्रसले मानवताको साझा अभियानलाई मजबुत बनाउँदै आएको छ ।

रगत अभाव हुन नदिनु, आवश्यक परेको बेला जहाँसुकै पु¥याउनु र कसैलाई पनि उपचारबाट वञ्चित हुन नदिनु—यही लक्ष्यका साथ रेडक्रस झापा निरन्तर क्रियाशील छ । यही कारण झापामा रगतको सवालमा भरोसाको नाम बनेको छ – नेपाल रेडक्रस सोसाइटी झापा शाखा ।

प्रतिक्रिया

सुरेन्द्र भण्डारी
लेखकको बारेमा
सुरेन्द्र भण्डारी
जिल्ला संवाददाता

विगत २ दशक अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी झापामा रहेर प्रदेश खबरका लागि जिल्ला संवाददाताका रूपमा कार्यरत छन ।

सम्बन्धित समाचार