फुङ्लिङ ः ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको छ । स्थानीय उत्पादनलाई बजारीकरणमा नगरपालिकाले सहजीकरण गर्न सुरु गरेको हो ।
विगत दुई वर्षदेखि नगरपालिकाले अल्लो सङ्कलन, प्रशोधन तथा कपडा बुन्ने तालिम आयोजना गर्दै आएको छ । वडा कार्यालयको समन्वयमा रेड पाण्डा नेटवर्क, हिमाली संरक्षण मञ्च, घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला वन कार्यालय र फुङलिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा दुई वर्ष यता देखि तालिम सञ्चालन गरिदै आएको छ ।
तालिममा सहभागी महिलाहरुले फरुम्बो अल्लो कपडा उद्योग दर्ता गरेर सञ्चालनमा ल्याएका छन् । १६ महिला आवद्ध भई सञ्चालन गरिएको उद्योगले विभिन्न किसिमका सामग्री उत्पादन गर्न थालेको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए ।
उद्यमीहरुलाई प्रोत्साहन गर्न स्थानीय सरकारले सहयोग गरेको वडा नम्बर १० का वडाध्यक्ष सन्तोष लिम्बूले बताए । लिम्बूका अनुसार उद्योगमा उत्पादित झोला फुङ्लिङ नगरपालिका वडा नम्बर १० फुरुम्बुका विद्यार्थीलाई वितरण गरिएको छ । वडा कार्यालयले खरिद गरी बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क वितरण गर्ने काम गरेको छ ।
वडाको चालु आर्थिक वर्षको करिब पाँच लाख बजेटमा झोला खरिद गरी विद्यार्थीलाई वितरण गरिएको थियो । फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले तालिममा सिकेका सीपको सदुपयोग गर्न अनुरोध गरेका छन् । उद्योगमा कपडा, झोला, टोपी, गलबन्दी, रुमाललगायतका सामग्री उत्पादन गरिदै आएको छ ।
प्रतिक्रिया