विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाले खरिद गरेको जग्गामा भ्रष्टाचार भएको भन्दै एमालेका स्थानीय नेता कार्यकर्ताले राजीनामा दिएका छन् ।
जग्गा खरिदमा भएको भ्रष्टाचारमा आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका तीन सयजना नेता–कार्यकर्ताले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा नेकपा एमाले मोरङ जिल्ला सदस्य नवीन पौडेल, गाउँ कमिटी सचिवालय सदस्य खड्गबहादुर बस्नेत, युवा नेता कुमार फुयाँललगायत छन् ।
उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य डिल्ली फुयाँल, अशोक फुयाँल, जेष्ठ कम्युनिस्ट सदस्य मदनप्रसाद फुयाँल, संगठक युवराज दवाडी, राजकुमार बराल, पालिकाका इन्चार्ज नारायण कुमार बस्नेत, सह– इन्चार्ज भोलानाथ पराजुलीले पनि राजीनामा दिएका छन् ।
यसैगरी, निर्वाचित वडा तथा कार्यपालिका सदस्य सुशीला श्रेष्ठ , राजकुमार लिम्बू, दुर्गा बिकलगायतले सामूहिक राजीनामा दिएका हुन् ।
उनीहरुले पार्टी निर्णय प्रक्रियालाई बेवास्ता गर्दै एकलौटी ढंगले पद्दधतिको कुनै पनि अनुसरण नगरी गाउँपालिकाले खरिद गरेको जमिनमा भएको भ्रष्टाचारको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पुर्याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णय गरेको दाबी गरेका छन् ।
प्रतिक्रिया