सुदर्शन खड्का बने कोशी प्रदेशसभाको सचिव, नौ महिनाको रिक्तता अन्त्य

प्रदेशसभा कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनमा

बुधबार, २६ कार्तिक २०८२

विराटनगर : करिब नौ महिनादेखि नेतृत्वविहीन रहेको कोशी प्रदेशसभाले अन्ततः नयाँ सचिव पाएको छ । संघीय संसद सचिवालयका पूर्वसचिव सुदर्शन खड्का प्रदेशसभाका सचिवमा नियुक्त भएका छन् ।

सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले खड्कालाई सचिवमा नियुक्त गरेका हुन् । बुधबार दिउँसो उनले प्रदेशसभाको कटहरीस्थित नयाँ कार्यालयमा सभामुख विष्टसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे ।

पूर्वसचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारको कसुरमा दोषी ठहर भएपछि प्रदेशसभा सचिवालय गत नौ महिनादेखि नेतृत्वविहीन थियो । पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध बालुवाखानी सञ्चालन गर्न अनुमति दिएको अभियोगमा पराजुलीलाई अदालतले ६ वर्ष कैद र जरिवानाको सजाय सुनाएको थियो । त्यसपछि उनी स्वतः पदमुक्त भएका थिए ।

koshi prades sabhaa

यसबीच, कोशी प्रदेशसभा बुधबारदेखि कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनमा सारिएको छ । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा अराजक समूहले प्रदेशसभा भवन र सचिवालयमा आगजनी गरेपछि पुरानो भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो ।

भवन ध्वस्त बनेपछि कटहरीस्थित फलफूल तथा कृषि थोक बजारको भवनलाई अस्थायी रूपमा प्रयोग गर्ने निर्णय गरिएको हो । प्रदेशसभाका कर्मचारीका अनुसार नयाँ स्थलमा आवश्यक संरचना र प्रशासनिक तयारी भइरहेको छ ।
‘प्रशासनिक काम सञ्चालनका लागि सुरुवात भइसकेको छ ।’ एक कर्मचारीले बताए ।

कटहरीको नयाँ कार्यस्थलमा सभामुख, उपसभामुखसहित प्रमुख पदाधिकारीहरूको कार्यकक्ष तयार पारिएको छ । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारका अनुसार सचिवालय व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको छ । उक्त भवनबाट अबको केही दिनमै प्रदेशसभाको बैठक सुरु हुने जानकारी उनले दिइन् । 

कार्यालय व्यवस्थापन पूरा भएपछि मंसिर दोस्रो साताभित्र प्रदेशसभाको हिउँदे अधिवेशन सुरु गरिने बताइएको छ । 

विराटनगरको गुद्री बजारलाई स्थानान्तरण गरी व्यवस्थित गर्ने उद्देश्यले संघीय सरकारअन्तर्गतको व्यावसायिक कृषि तथा व्यापार आयोजनाले कटहरीमा फलफूल तथा कृषि थोक बजार निर्माण गरेको थियो । तर, बजार सञ्चालनमा नआएसँगै अहिले कोशी प्रदेशसभा र सचिवालयको नयाँ थलो बनेको छ । 

तरकारी बजारका लागि कटहरी गाउँपालिका–१ जमटोकीमा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँमा संरचना बनाइएको थियो । बजार उद्घाटनपछि २०७५ चैत ३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चालनका लागि प्रदेश सरकारलाई हस्तान्त्रण गरेका थिए । 

तर, प्रदेश सरकारले सञ्चालन गर्न नसकेपछि कटहरी गाउँपालिकालाई जिम्मा लगाइएको थियो । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले उक्त संरचना निःशुल्क रूपमा प्रदेशसभा सञ्चालनका लागि दिने निर्णय गरिएको बताए । 

कटहरीमा संरचना बनाइएको भए पनि यसअघि बजार सञ्चालन हुन सकेको थिएन । कांग्रेस नेता तथा विराटनगर महानगरका हालका मेयर नागेश कोइरालाले गुद्री बजारका व्यापारीहरूलाई बसपार्क पछाडि आफ्नै जग्गामा भाडामा राखेपछि गुद्रीका व्यापारी कटहरीको तरकारी बजारमा गएनन् ।

कोशी प्रदेशसभा सचिवालयका सूचना अधिकारी निरोज ढकालका अनुसार कृषि बजारको प्रशासनिक भवनमा सचिवालय र छुट्टै भवनमा प्रदेशसभा सञ्चालन गर्ने तयारी छ । यो भवन प्रदेशसभा सचिवालयका लागि अस्थायी रूपमा प्रयोग गरिने छ । 

koshi prades sabha

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार