झापा । दश बुँदे सहमति गर्दै चारवटा पार्टीबीच एकीकरण भएको छ ।
नागरिक उन्मुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, कोचिला एकता संघर्ष समिति र नागरिक सशक्तीकरणका लागि जागरण अभियानबीच एकता भएको हो ।
झापाको बिर्तामोडमा बुधवार पत्रकार सम्मेलन गर्दै एकीकरणबारे जानकारी दिइयो ।
पहिचानका मुद्दालाई एक ढिक्का भएर अघि बढाउने उद्देश्यसाथ चारपार्टी एकीकरण गर्दै नागरिक उन्मुक्ति पार्टी (एकीकृत) घोषणा गरिएको संघीय अध्यक्ष ज्ञानवहादुर गुरुङले जानकारी दिए ।
नागरिक उन्मुक्ति पार्टीका प्रदेश संयोजक जीवन धामी चौधरी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङ, कोचिला एकता संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशी र नागरिक सशक्तीकरणका लागि जागरण अभियानका सदस्य दामोदर पाण्डेले हस्ताक्षर गरेको विज्ञप्तिमा नागरिक उन्मुक्ति पार्टी एकीकृत बनाउने घोषणा गरिएको छ ।
प्रदेशको संख्या निर्धारणको आधारमा प्रदेश प्रतिकका रुपमा ताराहरु रहने गरी नयाँ झण्डा निर्माण गर्ने, कार्य विधान मस्यौदा सहितिले पार्टीको झण्डा टुङ्गो लगाउने सहमति भएको छ भने पार्टीको चुनाव चिन्ह्र ढकिया राख्ने तथा शासकीय स्वरुप आलङ्कारिक राष्ट्रपति र संसदवाट निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने सहमति भएको छ ।
चार पार्टीबीच गत फागुन १८ गते भएको पाँच वुँदे सहमतिलाई समावेश गर्ने तथा पार्टी साहित्यमा सामुदायिक समाजवादलाई अवलम्वन गर्ने सहमति भएको छ ।
राज्य पुर्न संरचना गरी पहिचानका आधारमा १० प्लस एक १ लाई आधारसूत्र मानेर राज्य समिति कार्यकारी अधिकार सम्पन्न बनाउन भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयता महाधिवेशनमा लैजाने चार पार्टीबीच सहमति भएको हो ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट प्रस्तावित पदाधिकारी तथा सदस्यहरुमा संघीय अध्यक्ष ज्ञानवहादुर गुरुङ छन् ।
त्यस्तै उपाध्यक्षत्रयमा अम्वर वहादुर लिम्बू(एवी पन्धाक), अशोक चेम्जोङ र इन्द्रकुमारी लिम्बू (इन्दिरा), महासचिवमा दिलकुमार लावती, सहसचिवत्रयमा त्रिनारायण राजवंशी, पदम अधिकारी, ङिमारिजी शेर्पा छन् ।
त्यस्तै अतिरिक्त विभागीय प्रमुखसहित केन्द्रीय सदस्यहरुमा पूर्णकला लिम्बू (तेयुङ) , रमेश गजमेर, विष्णुकुमार लिम्बू (शेसेहाङ), लक्ष्मीप्रसाद मावो, गजेन्द्रमान चेम्जोङ क्याक, विक्रम वराइली, दामोदर पाण्डे (प्रवेश), धनवहादुर पन्धाक सुब्बा, सुश्मा कन्दङ्वा, भक्तबहादुर लिम्बू, उपेन्द्र मावो, अमरवहादुर लिम्बू ‘अमर’, चन्द्रराज आङ्दाम्वे छन् ।
पार्टीका केन्द्रीय सदस्य यथावत रहने सहमति भएको पत्रकार सम्मेलनमा बताइएको छ ।
यसैबीच संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकलाई पद मुक्त गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । अध्यक्ष लिङ्देन विरुद्व विभिन्न ४४ बुँदे अभियोग लगाउँदै पार्टीबाट निष्कासन गरिएको संघीय अध्यक्ष गुरुङले जानकारी दिए ।
मिराकविरुद्ध लगाइएको अभियोगमा स्पष्ट राजनीतिक कार्यदीशा नहुनुका साथै राज्य सत्ता प्राप्त नगरी भूमि मुक्ति, वर्गीय मुक्ति, जातीय मुक्ति, पहिचान प्राप्तिको मुद्धा लगायतका मुद्धाहरु सम्भव छैन भन्ने जानकार हुँदा हुँदै सो दिशा तर्फ पार्टीलाई उन्मुख गराउन बाधक बनेको आरोप छ ।
प्रतिक्रिया