कोशी सरकार परिवर्तन गर्न प्रधानमन्त्रीसँग कांग्रेस नेताहरुको छलफल

शनिबार, ३० बैशाख २०८०
काठमाडौं । एमाले नेतृत्वमा रहेको कोशी प्रदेशको सरकार परिवर्तन गर्नका लागि नेपाली कांग्रेसका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेका छन् । छलफलका क्रममा कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रको सत्ता गठबन्धन अनुसार कोशी प्रदेश सरकार निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । कोशी प्रदेशमा नयाँ सरकार बनाउने विषयलाई लिएर शुक्रबार उनीहरुले प्रधानमन्त्री दाहालसँग भेट गरेका थिए । ‘कांग्रेसका दुई महामन्त्रीले कोशी प्रदेश सरकार निर्माणबारे प्रधानमन्त्रीसँग कुराकानी गर्नुभयो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने, ‘प्रधानमन्त्रीले सत्ता गठबन्धनमा छलफल गर्ने बताउनु भएको छ ।’ कोशी प्रदेश सरकारमा मुख्यमन्त्री एमाले सांसद हिक्मत कार्की छन् । माओवादी केन्द्रबाट जीवन आचार्य पर्यटन, वन तथा वातावरणमन्त्री र दुर्गाप्रसाद चापागाईं भौतिक पूर्वाधार विकासमन्त्री छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन । कांग्रेस–माओवादीसहितको गठबन्धनमा सभामुखसहित ४७ सांसद छन् । विपक्षी दल एमाले र राप्रपाका भने ४६ सांसद छन् । कोशी प्रदेश सरकारमा राप्रपा पनि सामेल छ । संघमा कांग्रेस, एमाले, एकीकृत समाजवादी, जसपा, लोसपासँग गठबन्धन भए पनि कोशी प्रदेशमा एमाले र माओवादी एउटै सरकारमा छन् । प्रदेश सभाबाट विश्वासको मत नपाएर एमाले नेतृत्वको सरकार ढलेको खण्डमा पनि कांग्रेस–माओवादी गठबन्धनसँग सरकार निर्माणका लागि आवश्यक बहुमत पुग्ने देखिँदैन ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार