विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार अल्पमतमा परेको कारण विश्वासको मत लिने प्रयास गर्ने बताएका छन् । मुख्यमन्त्री कार्यालयमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री कार्कीले आफ्नै नेतृत्वमा बजेट आउने र विश्वासको मत लिने प्रयास गर्ने बताए ।
‘आगामी आर्थिक वर्षको बजेट पनि आउँछ,’ उनले अब के गर्नुहुन्छ भन्ने प्रश्नको जवाफमा भने, ‘संवैधानिक र कानूनी हिसावले म अल्पमतमा पुगेको छु । विश्वासको मत लिने प्रयास गर्छु ।’
सरकारका प्रवक्ता एवं कृषिमन्त्री तथा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले पनि विश्वासको मत लिन आफूहरुले प्रयास गर्ने बताए । प्रदेशसभा सचिवालयमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको पत्र दर्ता गराएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो दलले अहिलेकै सरकारलाई विश्वासको मत दिने संकेत पनि गरे ।
उता, नयाँ सरकारको नेतृत्व माओवादीले गर्ने नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्रकुमार राईले बताएका छन् । भागबण्डाको हिसावले हेर्दा आफ्नो दलले मुख्यमन्त्री पाउने हक राख्ने भए पनि आफू दोहोरिएर मुख्यमन्त्री बन्ने पक्षमा नभएको बताए ।
‘भागबण्डाको हिसावले हाम्रो पार्टीलाई मुख्यमन्त्रीको हकै लाग्ने हो । तर, म एउटा संयोजन गर्ने भूमिकामा पनि रहेको र अलिक नैतिकताको धरातलमा पनि टेकेर राजनीति गर्नुपर्ने भएको हुनाले यो गठबन्धनबाट सँधैभरी म मात्रै दोहोरिँदा त्यति न्यायोचित हुँदैन । त्यसो हुँदा मैले अरुनै साथीहरुलाई मन्त्री बनाउनका लागि दुई तिन महिनाअगाडिबाट लागिरहेको छु,’ उनले भने, ‘दोहोरिएर सांसद जित्नु भएको, अर्थमन्त्री पनि भइसक्नु भएको इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने करिब करिब सहमति छ । काँग्रेससहितको पुरानो जेन्टलमेन्ट एग्रिमेन्ट भएको हो । अब आज काँग्रेसले कस्तो छलफल गर्नुभयो मलाई थाहा छैन ।’
उनले नयाँ बन्ने सरकारलाई बहुमत (४७) भन्दा बढी सांसदको समर्थन रहने सम्भावना रहेको दाबी गरे । ‘गठबन्धनलाई ४७ मतभन्दा पनि बढी पुग्ने सम्भावनाहरु छन् । हाम्रो त्यो खालको कुराकानी भइरहेको छ,’ उनले भने । उनले अहिलेको सरकारले अध्यादेशबाट ल्याएपनि वा संसदबाटै ल्याएपनि बजेट पास नहुने र नयाँ सरकार बनेपछि बजेटलाई पूर्णता दिने पनि बताए ।
काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले भने काँग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने आफ्नो दलको निर्णय भएको बताए । संसद सचिवालयमा आजै बसेको बैठकले उक्त निर्णय गरेको कार्कीले जानकारी दिए । ‘नयाँ सरकार गठनको विषयमा गठबन्धन दलबीचमा छलफल गरेर नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय भएको छ,’ उनले भने, ‘दलहरुबीच छलफल हुँदै जाँदा अर्को सहमति पनि हुनसक्छ ।’
प्रतिक्रिया