काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देश भ्रष्टाचारले गाँजेको बताएका छन् । प्रेस युनियन काठमाडौँ शाखाको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै डा कोइरालाले नेपालका कुनै पनि भ्रष्टाचारका काण्ड जरैसम्म पुगेर छानबिन नभएको बताए ।
उनले भने, भुटानी शरणार्थी, ललिता निवास प्रकरण, सुन काण्ड आयो, तर कुनै पनि घटना पूर्ण रूपमा छानबिनमा गएन । अहिलेको सुन काण्ड पनि सामसुम हुन्छ किनकि माथिल्लो तहको इन्भल्भमेन्ट छ । भारतले ४००/५०० नेपाल हुँदै भारत जान सक्छ । नेपालीहरू बिचौलियाको पनि बिचौलिया भए । यो अहिलेको मात्रै होइन । एक सय किलो भन्या त केही हैन । यो भन्दा धेरै भएको छ । सुन काण्डले नेपालको सुरक्षा कमजोर देखाएको छ । यो काण्ड सेलाउँदा सेलाउँदै अर्को आउँछ । किनकि जरैसम्म कुनै काण्डको अनुसन्धान हुँदैन । यस काण्डमा सीआइबी संलग्न छैन । राजश्व अनुसन्धान मात्रै संलग्न छ । त्यस कारण यो शङ्कास्पद छ ।
त्यति मात्रै होइन, डिजी प्रधानमन्त्रीजीको पिए हुनुभयो । अर्कोतिर संसद् चलिरहेको छ । विपक्षी दल संसद् अवरुद्ध गरिरहेको छ । यो कामले देशलाई घाटा भइरहेको छ ।'
'कुनै घटना आउँछ अनि शीर्ष तीन नेता एक ठाउँमा बसेर छलफल हुन्छ ? किन छलफल हुन्छ त ? यो कुरा उजागर गर्न आवश्यक छ । दण्डहीनताको अन्त्य, सुशासन कायम गर्न सकियो भने नेपालको भविष्य उज्ज्वल छ' उनले भने ।
अर्को प्रसंगमा नेता कोइरालाले आफू पार्टी सभापति देउवाले बोलाएर भेट्न गएको उल्लेख गर्दै यसैलाई लिएर मिलेको भन्न नहुने उल्लेख गरे ।
‘देउवाजीले बोलाएर गएको हुँ, मिलेको होइन’ उनले भने ।
प्रतिक्रिया