विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल गम्भीर भूराजनीतिक दबाब र हस्तक्षेपको घेरामा फस्दै गएको दाबी गरेका छन् ।
देशलाई कसरी जोगाउने भन्ने जिम्मेवारी अब निर्णायक मोडमा पुगेको उनको भनाइ रहेको थियो । आइतबार विराटनगरमा राप्रपा मोरङको जिल्ला अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै बाह्य शक्तिहरूको प्रभाव तीव्र हुँदै गएको संवेदनशील अवस्थामा नेपाल गुज्रिएको बताए ।
अध्यक्ष लिङ्देनले नेपालको निर्णय क्षमता क्रमशः नेपाली जनताको हातबाट बाहिरिँदै गएको आरोप लगाए । उनले विदेशी शक्तिहरूले कसलाई जिताउने, कसलाई प्रधानमन्त्री बनाउने भन्ने दाउपेच सुरु भइसकेको स्पष्ट संकेत देखिएको समेत दावी गरे ।
यस्तो अवस्थालाई बेवास्ता गरेर गरिने राजनीतिले राष्ट्रिय सार्वभौमिकतामाथि नै खेलवाड हुने उनको भनाइ थियो । उनले वर्तमान राजनीतिक नेतृत्वले यो यथार्थ स्वीकारेर गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए । राप्रपा अध्यक्ष लिङ्देनले आगामी फागुन २१ गते तोकिएको चुनावप्रति असहमति जनाउँदै उक्त चुनावले समस्याको समाधान नगर्ने र झन् देशलाई बर्बादी र अनिश्चितताको दिशातर्फ धकेल्ने चेतावनी दिए । सहमति बिनाको चुनावले देश झन् अस्थिर बन्ने उनको भनाइ रहेको थियो।
उनले संघीय संरचनाले अपेक्षित स्थायित्व र सुशासन दिन नसकेको भन्दै संघीयता नचाहने र विचार मिल्ने शक्तिहरूसँग सहकार्यका लागि छलफल अघि बढाइएको जानकारी दिए ।कार्यक्रममा पार्टीभित्रको एकताका विषयमा बोल्दै लिङ्देनले पूर्वअध्यक्ष कमल थापा पुनः पार्टीमा फर्किएको बताए । उनले थापा आवेगमा पार्टी छाडेर गएको र अहिले आपसी संवादपछि घर फर्कन सहमत भएको स्पष्ट पारे । अन्य रुष्ट नेता तथा कार्यकर्ताहरूलाई पनि पार्टीमा फर्कन आग्रह गर्दै उनले आन्तरिक कलहले संगठन कमजोर बनाउने बताए ।
प्रतिक्रिया