काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफैँबाट सुरु गर्नुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर ३ को क्षेत्रीय भेलामा उपसभापति खड्काले गाउँ तहदेखि केन्द्रीय तहसम्मका सबै नेतालाई पार्टी रुपान्तरण र सुधारका लागि लाग्न आग्रह गरे ।
‘अरुलाई भन्नुभन्दा हरेक नेता तथा कार्यकर्ताले आफैँबाट सुधार सुरु गर्नुपर्छ’, उनले भने, ‘पार्टीलाई जीवनका लागि टोल तहको नेतृत्वदेखि केन्द्रीय तहका सबैमा सुधार जरुरी छ ।’
उपसभापति खड्काले आम नेपाली जनता, मतदाता र पार्टी कार्यकर्ताले मन नपराएको र नगर भनेको कुरा नगर्दा मात्रै पनि पार्टीमा सुधार देखिने धारणा राखे ।
उनले जनताले औँल्याएका कमी कमजोरी सुधार गरी जाने संकल्प बोकेर काम गरे पार्टी सुधार र रुपान्तरण हुने बताए । पार्टीमा स्थापनाकालमा काम गरेका र नयाँ पुस्ता पनि रहेको भन्दै उनले पार्टीको निर्णय पनि त्यसैअनुसार व्यवस्थापन हुनुपर्ने बताए ।
उपसभापति खड्काले केन्द्रीय तहबाट हुनुपर्ने विभाग गठनमा केही ढिलाइ भएपनि चाँडै त्यसलाई पूर्णता दिने जानकारी पनि दिए ।
उनले एउटा उमेर समूहले अर्को उमेर समूहलाई पार्टीमा औंला उठाउने मात्र गरे पार्टी बलियो हुन नसक्ने भन्दै सबै मिलेर जानुपर्नेमा जोड दिए ।
नेपाल सरकारका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहनुभएका खड्काले सरकारले सुशासनको अभियानलाई निरन्तरता दिने समेत स्पष्ट पारे ।
प्रतिक्रिया