सामाजिक सञ्जाललाई नेपालमै दर्ता अनिवार्य, यी हुन् प्रयोगकर्ताले गर्न नमिल्ने १९ क्रियाकलाप

विहीबार, २३ कार्तिक २०८०
काठमाडौँ-मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल संचालन निर्देशिका, २०८० पारित गरेको छ। सामाजिक संजालहरू फेसबुक, एक्स (विगतमा ट्विटर), टिकटक, युट्यूब, इन्स्टाग्रामलगायतमा राखिने सामग्री विकृत भएको भन्दै प्रश्न उठेपछि सरकारले निर्देशिका ल्याएको हो। निर्देशिकाले नेपालमा संचालन हुने सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताले के गर्न नहुने हो भन्नेबारे १९ बुँदा तयार पारेको छ। निर्देशिकाअनुसार सामाजिक सञ्जाल प्लेटफर्म दर्ताका लागि सूचना प्रकाशित हुनेछ। सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्मले मन्त्रालयमा सूचीकरण गर्नुपर्नेछ। सूचिकरणका लागि प्लेटफर्म सञ्चालक आफैं उपस्थित भई वा प्रतिनिधिमार्फत् अनलाइनबाट पनि निवेदन दिन सक्ने प्रावधान छ। सूचीकृत नभए कुनै पनि बखत बन्द गर्न सक्ने प्रावधान निर्देशिकामा छ। निर्देशिका जारी भएको तीन महिनाभित्र सामाजिक सञ्जाल प्लेटफर्महरुले नेपालभित्र सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ। सामाजिक सञ्जाल प्लेटफर्महरुले अब कारोबारको भुक्तानी बैंकिङ प्रणालीबाट गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा गरिएको छ। सरकारले यस्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकहरुले कानुन विपरीतका सामाग्री प्रकाशन या प्रसारण भएको गुनासो प्राप्त भएमा सो को पहिचान र यकिन गरी २४ घण्टाभित्र हटाउनुपर्ने प्रावधान राखेको छ। सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका लागि सञ्चार मन्त्रालयमा इकाइसमेत गठन गर्ने भएको छ। ‘सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक वा सो को सम्पर्क विन्दुबाट गुनासो सुनुवाइ नभएको वा सम्बद्ध निकायबाट प्रचलित कानुनबमोजिम सामाजिक सञ्जालका विषयमा सम्बोधन हुनुपर्ने विषय सम्बोधन नभएको भनी प्राप्त गुनासोको सम्बन्धमा कार्य गर्न मन्त्रालयमा एक सामाजिक सञ्जाल व्यवस्थापन इकाइ रहनेछ’, निर्देशिकामा भनिएको छ। यस्तो इकाइले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी गुनासो दर्ता गर्ने, कुनै व्यक्तिले ठगिएको, हैरानी दिएको वा गाली गरेको स्क्रिनसट पेश गरे/नगरेको यकिन गर्ने, तथ्य जाँच गर्ने, सरकारले तयार पारेको निर्देशिकाविपरीत प्रकाशित वा प्रशारित सामाग्री हटाउन सम्बन्धित प्लेटफर्म सञ्चालक वा सोको सम्पर्क कार्यालयलाई ४८ घण्टाभित्र लेखि पठाउनेछ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) बनाउन रोक लगाइको छ। बेनामे वा छद्मभेषी पहिचानमार्फत् विषयवस्तु उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु सेयर गर्ने वा टिप्पणी व्यक्त गर्न वा कल गर्न नपाइने व्यवस्था गरिएको छ। निर्देशिकाले डिजिटल माध्यमको प्रयोगबाट व्यक्तिको तस्बिर विकृत रुपमा परिमार्जन गरी प्रशारण गर्न, निजी मामिलाका फोटो/भिडिओ अनुमतिबिना खिचेर प्रकाशन र प्रशारण गर्न, अश्लील शब्द, तस्बिर, भिडिओ, अडिओ एनिमेसन प्रशारण, प्रकाशन र टिप्पणी गर्न नहुने व्यवस्था गरेको छ। विभित्स तस्बिर, भिडिओ कुनै सन्दर्भबिना नै पोष्ट वा सेयर गर्न नपाइने व्यवस्था निर्देशिकाले गरेको छ। सरकारले जारी गरेको सामाजिक सञ्जाल संचालन निर्देशिका अनुसार सामाजिक सञ्जाल प्रयोगका क्रममा गर्न नमिल्ने क्रियाकलाप निम्न रहेका छन् : १. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) सिर्जना गर्न, २. बेनामे वा छद्मभेषी पहिचान (फेक आइडी) मार्फत विषयवस्तु (कन्टेन्ट) उत्पादन गरी सेयर गर्ने वा अरूको विषयवस्तु (कन्टेन्ट) सेयर गर्ने वा टिप्पणी (कमेन्ट) व्यक्त गर्न वा कल गर्न, ३. कुनै समुदाय, जातजाति, लिंग, धर्म, उमेर, वर्ण, वर्ग, पेशा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्था, शारीरिक तथा मानसिक अवस्था, उत्पत्ति, यौनिक अल्पसंख्यक, भाषाभाषी तथा कानुनले संरक्षण गरेका अन्य समूह वा वर्गलाई लक्षित गरी घृणा फैलाउने, सामाजिक सद्भाव र सहिष्णुतामा आँच आउने प्रकृतिका अभिव्यक्ति दर्शाउने शब्द, श्रव्य दृश्य, तस्बिर सेयर गर्ने एवम् ट्रोल बनाइ प्रकाशन र प्रसारण गर्न, ४. बालश्रम, मानव बेचबिखन, बहुविवाह, बालविवाह जस्ता क्रियाकलाप गर्न प्रोत्साहित गर्न, ५. अरूलाइ होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्बिर, ट्रोल बनाइ घृणायुक्त अभिव्यक्ति, गाली बेइज्जती गर्न, हेट स्पीच वा हेट स्पीच मानिने कार्य गर्न (स्पष्टीकरणः हेट स्पीच भन्नाले पोष्ट, सेयर वा कमेन्ट गरेको विषयले व्यक्ति, समूह वा समुदायमा हिंसा फैलने, सामाजिक सद्भाव बिग्रने जस्ता दुष्परिणाम निस्कन सक्ने खालका आवाज, शब्द, तस्बिर, भिडियोलाई सम्झनुपर्छ) ६. डिजिटल माध्यमको प्रयोगबाट कुनै व्यक्तिको तस्बिर विकृत रुपले परिमार्जन गरी प्रकाशन वा प्रसारण गर्न, ७. सार्वजनिक प्रकृतिका बाहेक निजी मामिलाका फोटो भिडियो अनुमतिबिना खिचेर प्रकाशन र प्रसारण गर्न, ८. अश्लील शब्द, तस्वीर, भिडियो, अडियो एनिमेसन प्रसारण, प्रकाशन, टिप्पणी गर्न, ९. बालबालिकालाई हानी पुर्‍याउने सामग्री तथा बालयौन शोषण, यौन दुर्व्यवहार, देह व्यापार जस्ता निषेधित क्रियाकलापलाई प्रोत्साहन गर्न, १०. मित्थ्या सूचना, भ्रामक सूचना, दुष्प्रचार, सूचना तोडमरोड प्रकाशन वा प्रसारण गर्न, ११. साइबर बुलिङ मानिने कार्य गर्न, (स्पष्टीकरणः साइबर बुलिङ भन्नाले प्रविधिको प्रयोग मार्फत अन्य व्यक्तिलाई हतोत्साहित बनाउने,धम्क्याउने, हैरान पार्ने, गालीगलौच गर्ने, गलत सूचना स्प्रेषण गर्ने जस्ता कार्य सम्झनुपर्छ), १२. लागुऔषध सेवनको प्रोत्साहन तथा कारोबार गर्न, गराउन, १३. जुवा खेलाउने वा जुवा खेल्न प्रोत्साहन गर्न, १४. आतंकवाद सम्बन्धी विषयवस्तुको प्रकाशन वा प्रसारण गर्न, १५. सामाजिक सञ्जाल प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गर्न, १६. सामाजिक सञ्जाल प्रयोग गरी फिसिङ, इम्पोस्टर जस्ता कार्य गर्न, १७. विभत्स तस्बिर, भिडियो कुनै सन्दर्भबिना नै पोस्ट वा सेयर गर्ने, १८. प्रचलित कानुनले निषेध गरेका वस्तुहरूको विज्ञापन तथा कारोबार गर्न, १९. प्रचलित कानुनले निषेध गरेका कृयाकलापहरू नक्कल गर्न तथा सेयर गर्न,

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार