उनी सुनाउँछन् – नागरिकका साना साना अपेक्षा हुन्छन् । घरमा बिजुली बलिरहोस्, सडकमा यातायातका साधन नियमित गुडिरहोस्, वडाको सिफारिस सजिलै पाइयोस्, त्यो पनि भरसक घरमा नै पाइयोस्, दीर्घरोगीको औषधि सजिलै पाइयोस्, धारामा पानी नियमित आओस् । ‘जनप्रतिनिधिले के छ, कसो छ भनेर बोलाइदेओस् ठान्छन् । नागरिकका यिनै भावना सम्बोधन गर्ने प्रयत्न गर्दै काम गरिएको छ,’ पौडेल भन्छन् ।
वर्षायाममा वडाध्यक्ष पौडेल प्राय गल र साबेल बोकेर हिँडिरहेका भेटिन्छन् । ‘कच्ची सडक छ, ठाउँ ठाउँमा खाडल हुन्छ चिप्लिने भएकाले गाडी चल्नै गाह्रो हुन्छ । ‘हामी जनप्रतिनिधिहरू कहाँ बाटो बिग्रिएको छ, त्यतै साबेल र कोदालो बोकेर पुग्छौं, स्थानीयले पनि सघाउँछन्, बिना पैसा समस्या समाधान हुन्छ, बाटो खुल्छ,’ उनले भने ।
अहिले पौडेल लगायतको जनप्रतिनिधिको टोली गाउँमा बिजुलीको तार फेर्ने काममा खटिइरहेको छ । पुरानो जीर्ण तारका कारण बारम्बार विद्युत आपूर्ति अवरुद्ध हुने समस्या भएपछि विद्युत प्राधिकरणसँग समन्वय गरेर वडा कार्यालयको खर्चमा तार ढुवानी गरी प्लास्टिक कोटेड कालो तार फेर्ने काम भइरहेको छ ।
असोजदेखि नै जनप्रतिनिधिको टोली लगातार त्यही काममा छ । ‘दसैं अघि र दसैंतिहारका बीचमा अलिकति काम गरियो, बाँकी काम तिहारपछि लगातार गरिरहेका छौं, आज १२ दिनको श्रमदान हो,’ शनिबार वडाध्यक्ष पौडेलले भने ।
वडाको सबै तार नफेरी र सबै घरमा विद्युत नपु¥याएसम्म यो कामलाई निरन्तरता दिइने उनले बताए । ‘हामी जनप्रतिनिधि सबै टोलमा पुग्छौँ, तार तान्ने, खाडल खन्ने, पोल गाड्ने काममा खट्छौं । जुन टोलमा पुग्यो त्यही टोलका स्थानीय पनि श्रमदानमा निस्किन्छन्, राम्रो सहयोग पाएका छौँ, राम्रो श्रमदान जुटेको छ,’ उनले भने ।
प्रतिक्रिया