नगर प्रमुखसँगै बगान पुगेका इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण पौडेलले चापागाईंजस्ता मेहनती किसान सबैका लागि प्रेरणा भएको बताए । पौडेलले भने, ‘हामी उपभोक्ताले पनि स्थानीय उत्पादनलाई नै प्राथमिकता दिने हो भने किसानलाई निकै ठूलो सहयोग पुग्छ, फलफूलका रूपमा पनि आयातितलाई भन्दा स्थानीय उत्पादन नै उपभोग गर्नुपर्छ भन्ने चेतना विकास गर्नु आवश्यक छ ।’
किसान सामवेद सशस्त्र द्वन्द्वका पीडित हुन् । उनका बुबा लेखनाथको सशस्त्र द्वन्द्वकालमा हत्या भएको थियो । त्यसपछि सामवेदको परिवार जिल्लाकै नामसालिङ गाउँबाट बरबोटेमा बसाइ सरेको रहेछ । नामसालिङमै हुँदा पनि सुन्तला खेतीमा रमाएको उनको परिवार २० वर्षयता बरबोटेमा पनि सुन्तलामै सफलता हासिल गरिरहेको छ । उनको सुन्तला बगान यो सालको जिल्लाकै ठूलो बगान पनि हो । कुनै वर्ष तीन हजार रुपैयाँमा बिक्री भएको सुन्तला किसान चापागाईंले यो साल १० लाख रुपैयाँमा बिक्री गरे ।
सुन्तला लगाएको पहिलो वर्ष तीन हजार रुपैयाँमा बिक्री गरेको सम्झँदै सामवेदले यस वर्ष आफ्नो बगानको सुन्तला पाक्न नपाउँदै १० लाख रुपैयाँमा बिक्री भएको बताए । जिल्लाका विभिन्न ठाउँमा सुन्तला मासिँदै गएकाले चापागाईंको जस्तो बगान भेट्न निकै मुस्किल पर्छ । उनी भन्छन्, ‘गत वर्ष चार लाख रुपैयाँमा बिकेको यो बगानमा यस वर्ष उत्पादन राम्रो छ, धेरैतिर उत्पादन कम भएपछि व्यापारीले पोहोरको तुलनामा दोब्बरभन्दा बढी मूल्य दिएका छन् ।’
कृषि ज्ञान केन्द्रले पनि चापागाईंको बगान नै इलाममा अहिले सबैभन्दा बढी सुन्तला उत्पादन हुने बगान रहेको हुनसक्ने जनाएको छ । केन्द्रले किसानलाई सुन्तला खेतीमा अनुदान र प्राविधिक सहयोग गरिरहेको बताएको छ । जिल्लामा भने सुन्तला उत्पादन घटेको छ । गत वर्ष दुई हजार सात सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको लाममा यस वर्ष दुई हजार सात सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको कर्मचारी रुजन खड्काले बताए ।
कार्यालयका अनुसार, यस वर्ष इलाममा विगतको तुलनामा सुन्तलाखेती गर्ने क्षेत्रफलसमेत घटेको छ । आव २०८०/८१ मा दुई सय ७८ दशमलव पाँच हेक्टरमा मात्र सुन्तलाखेती भएको छ । गत आव २०७९/८० मा दुई सय ८० हेक्टरमा सुन्तलाखेती गरिएको थियो । इलाम-५ माइजोगमाईको नामसालिङ, रोङको वडा नम्बर-६ लगायत क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला उत्पादन भएको उनले बताए ।
उनले भने, ‘पुरानो बोट, रोग-कीरा, मौसम परिवर्तन, समयमा काटछाँट, सिँचाइ अभाव, जलवायु परिवर्तनको असर आदि कारणले पनि बगान मासिँदै गएका छन्, अहिले उच्च क्षेत्रमा पनि सुन्तला फल्न थालेको खबर आएका छन्, किवीखेती हुने स्थानतिर सुन्तला फलेको पाइएको छ ।’
केन्द्रले पनि सुन्तला मासिन नदिन बगैँचा व्यवस्थापन सुदृढीकरण कार्यक्रम सुरु गरेको छ । चार नगरपालिका र छ गाउँपालिका भएको इलामका दश स्थानीय तहमा नै सुन्तलाको आंशिक खेती हुँदै आएको छ ।
प्रतिक्रिया