केन्द्रीय सदस्य बुढाथोकीको निधनपछि कांग्रेसका सबै कार्यक्रम स्थगित

मंगलबार, २३ माघ २०८०
काठमाडौँ - नेपाली कांग्रेसले मंगलवार बिहान आकस्मिक बैठक बोलाएर ‘समुदायमा कांग्रेस’अभियानलगायत पार्टीका सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन भएपछि कांग्रेसले अभियानसहित पार्टीका सबै कार्यक्रमहरू स्थगित गरेको हो। कांग्रेस शोकमा परेको उल्लेख गर्दै अभियानसहित कांग्रेसका सबै कार्यक्रम स्थगित भएको जानकारी दिइएको छ। आकस्मिक बैठकपछि पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टीले बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै २०८० माघ २३, २४ र २५ गते ९तीन दिन०सम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झन्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जानकारी दिएका छन्। यसैगरी २०८० माघ २४ गते बुधवारका दिन केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने र १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने जनाइएको छ। साथै १३ औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने निर्णयमा उल्लेख छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा सोमबार (हिजो) माघ २२ गते निधन भएको हो। विसं२००१ साल असोज २२ गते पिता रणकेशर बुढाथोकी र माता नन्दकुमारी बुढाथोकीको सुपुत्रका रूपमा जन्मिएका बुढाथोकीले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार