ओली र दाहालले पार्टी एकता गर्दा ‘हामी पुल काटेर आएका छौं, अब फर्किने ठाउँ छैन भनेका थिए । त्यसको छोटो अवधिमै उनीहरु पुरानै अवस्थामा पुग्ने गरी छुट्टिएका थिए । त्यसपछि दुवै नेताहरुले परस्पर हिलो छ्याप्न शब्दकोषमा उपलव्ध सबै चर्का शब्दहरुको उपयोग गरेका थिए । नयाँ गठबन्धनमा सामेल हुनासाथै विगतलाई झुटा सावित गर्ने प्रयाश दुवैजनाका तर्फबाट जारी छ । आज विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले निशंकोच एकअर्काको प्रशंषा गरेका छन् ।यो गठबन्धन बने लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री दाहालले राजनीतिक धोकाधडी गरेको भनेर चर्को आलोचना गरेका थिए । उनले उदाहरणहरु प्रस्तुत गर्दै ‘धोका पाएकाहरु एक ठाउँ जम्मा भएका दिन तपाईं के गर्नुहुन्छ’ भनेर प्रधानमन्त्री दाहालसँग प्रश्न गरेका थिए। । निवर्तमान सरकारका तर्फबाट प्रस्तुत पूर्व बजेटमाथि छलफल चलिरहेकै बेला अकस्मात गठबन्धन भत्किएपछि नयाँ गठबन्धन बनेको हो । बहालवाला प्रधानमन्त्री नै नयाँ गठबन्धनमा पनि सरकारको नेतृत्वमा निरन्तर रहने गरी भएको यो गठबन्धनले वामपन्थी दलहरु र भर्खरै संसदीय राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेटेर सरकार सञ्चालन गर्ने देखिएको छ । भावी प्रधानमन्त्रीको उधारो आश्वासन एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल अन्कनाउँदै यो गठबन्धनमा सहभागी भएका छन् । संसदको यही कार्यकालभित्र आफू पनि प्रधानमन्त्री हुन पाउनुपर्ने माग राखेर केहीदिन अडिएका नेपाललाई ओली र दाहालले सँगै राखेर मौखिक आश्वासन दिएपछि उनी राजी भएका हुन् भन्ने कुरा पनि स्पष्ट हुँदै गएको छ । भावी प्रधानमन्त्रीको मौखिक आश्वासन पाएपनि नेपालले त्यसको लिखित प्रत्याभूति भने पाउन सकेका छैनन् । यो उधारो आश्वासन विश्वासको मत पाउञ्जेल मात्रै हो कि पछिसम्म कायमै रहने छ भन्नेमा स्वयं नेपालले विश्वस्त हुने आधार पाईरहेका छैनन् । उथलपुथल गर्दै बाजी मार्दै प्रचण्ड गएको संसदीय निर्वाचन पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तिव्र गतिमा छलाङ्ग मार्दै राजनीतिक लाभ हासिल गरिरहेका छन् । ‘देश र जनताको हितमा समृध्दिको कार्य गर्न’ गठबन्धन परिवर्तन गर्नुपरेको तर्क दिँदै दाहालले सहयात्री मुख्य दलहरुलाई उच्च महत्वका संवैधानिक पदहरु दिलाउन सहयोग नगरेका पनि होइनन् । पहिलो गठबन्धन गरेर एमालेलाई सभामुख पद पाउन मद्दत गरेका उनले राष्ट्रपति पदमा नेपाली कांग्रेसलाई सहयोग गरेकै हुन् । सभामुखमा एमालेका नेता देवराज घिमिरे र राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल चुन्न दाहालले पुर्याएको योगदानलाई दुवै ठूला पार्टीले विर्सन मिल्दैन । यसको बदलामा भविष्य अनिश्चित रहेको प्रधानमन्त्री पद र राष्ट्रिय सभाको अध्यक्ष पद दाहालको पार्टीको भागमा परेको छ । यसरी हेर्दा सत्ता परिवर्तनमा गहिरो रुचि भएका जस्ता देखिएका दाहालले शक्तिका सबै केन्द्रहरु आफैंसँग मात्र राखौं भनेर लालच गरेको जस्तो पनि देखिँदैन । एउटा प्रश्न भने अवश्य पनि उठ्ने गरेको छ कि माओवादी अध्यक्ष दाहाल किन गठबन्धन फेरिरहन रुचाउँछन् । के दाहालले भनेजस्तै आफ्नो जीवनकालभरी नै उथलपुथल मच्चाईरहनु उनको नियति हो त ? पार्टीभित्रको विरोध र असमतिको आवाजलाई थिचेर दाहालले आफ्नै वन्धु नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाएरै छाडे । सत्ता गठबन्धनको नयाँ छलाङ्ग मार्दा प्रधानमन्त्री दाहालले यो शर्तमा एमालेसहितका दलहरुलाई सहमत गराएका थिए । राजनीतिको सार्वजनिक जीवनमा प्रकट भैसकेपछि दाहालले केही उल्लेखनीय उथलपुथल त मच्चाईसकेकै हुन् । नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति बन्न नदिएर उनले राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएकै हुन् । यो कुरा उनी स्वयंले सार्वजनिक रुपमै पटक पटक चर्चा गरेका छन् । प्रधानसेनापति हटाउने असफल प्रयासलाई चानचुने उथलपुथल मान्न सकिँदैन । त्यसपछि मित्र राष्ट्रहरु विरुध्द आएका उनका चर्का अभिव्यक्तिले पनि राजनीतिमा तरंग उत्पन्न गरेकै हुन् । प्रधानसेनापति हटाउन असफल भए लगत्तै जातीय राज्यको घोषणा गर्दै देश दौडाहा गरेर दाहालले राजनीतिमा आफ्नो उपस्थिति प्रभावकारी बनाउने प्रयास गरेकै हुन् । यसअघिको सरकारको नेतृत्व गर्दा दाहालले भ्रष्टाचार र अनियमितताका केही उल्लेख्य घटनाहरुको अनुसन्धान गराएर राजनीतिक तरंग उत्पन्न गरेका थिए । तर ती बिषयहरुको छिनोफानो भने हुन बाँकी नै छ । अहिले तेस्रो पटक विश्वासको मत पाएका छन्, प्रधानमन्त्री दाहालले यसलाई कति लामो दूरीको यात्रा गराउन सक्लान्, यो भने भावी दिनहरुमा प्रष्ट हुँदै जाने छ ।
प्रतिक्रिया