आफू संविधानले दिएको अन्तिम विकल्प धारा १६८(५) अन्तर्गत बनेको सरकार भएकाले बहिर्गमन हुनै नसक्ने तर्क गर्दै आइरहेका छन्। धारा १६८ (५) अन्तिम विकल्प भएकाले प्रदेश सरकारको बाँकी कार्यकाल भरी आफू नै मुख्यमन्त्री रहने बताउँदै आएका छन्।
उनी राजीनामा पनि नदिने र विश्वासको मत पनि नलिने अभिव्यक्ति दिँदै आएका छन्। उनी सत्ता टिकाइ राख्ने विकल्पको खोजीमा छन्। यदि आफूलाई विस्थापन गर्न खोजे प्रदेशसभा विघटन गरी मध्यावधिमा जान सक्ने धम्की दिन थालेका छन्।
सत्ता बाहिरका दलहरूले बहुमतसिद्धको दाबी पेस गरेपछि उनलाई कुर्सी छाड्न थप दबाब पुगेको छ। यद्यपि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छैनन््। सरकार गठनका लागि आह्वान नहुँदै गठबन्धन दलहरूले दाबी प्रस्तुत गरेपछि कार्की अप्ठ्यारोमा परेका हुन्।
के भन्छन् संविधानविद्हरू
संविधानविद्हरूले भने नयाँ सरकार गठनको सम्भावना रहेसम्म प्रदेशसभा विघटन नहुने बताउँदै आएका छन्। संविधानविद् डा. भीमार्जुन आचार्यले प्रतिनिधिसभा विघटनपछि सर्वोच्च अदालतले गरेको फैसलामा नयाँ सरकार गठनको सम्भावना रहेसम्म संसद् विघटन नहुने व्याख्या रहेको बताउँदै आएका छन्।
नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानले संसद् विघटनको कल्पना नै नगरेको तर्क गरे। उनले सरकार गठन, विघटनको प्रक्रिया प्रदेशसभाबाट हुने भएकाले प्रदेश प्रमुखसँग अधिकार नभएको बताए। उनले भने, ‘सरकारसँग संसद विघटन गर्ने अधिकार पनि छैन र प्रदेश प्रमुखसँग अर्को सरकार गठन गर्ने अधिकार पनि छैन, यो केवल संसद्मा निहित छ।’ उनले भने, ‘सरकार गठन भएको दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने व्यवस्था छ यदि संविधान मिचेर ल्याउने हो भने त्यो पनि संसद्बाट पास गर्नुपर्छ।’
सर्वोच्च अदालतको नजिर के छ ?
सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७८ असार २८ गते गरेको फैसलामा उपधारा ५ मा दिएको समर्थन फिर्ता हुनसक्ने स्पष्ट व्याख्या थियो। तत्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनविरुद्धको मुद्दाको फैसलामा उपधारा ५ अनुसार दिएको समर्थन चिरस्थायी नहुने भन्दै अवस्था र परिस्थितिअनुसार फिर्ता लिन सकिने भनिएको छ। यस्तै उपधारा ५ अनुसार व्यक्तिगत मात्र नभई दलीय समर्थनमा पनि सरकार बन्न सक्ने फैसलामा उल्लेख छ।
फैसलामा भनिएको छ, ‘यस उपधाराअनुसार प्रदान गरिने समर्थन वा व्यक्त गरिने विश्वास दलीय निर्णयको आधारमा पनि गर्न सकिन्छ। साथै प्रतिनिधिसभाका सदस्यहरूले आफ्नो स्वतन्त्र विवेक र बुद्धिमत्ता प्रयोग गरेर पनि समर्थन वा विश्वास व्यक्त गर्न सक्ने देखिन्छ। यसरी दिइएको समर्थन वा विश्वास चिरस्थायी नै हुनुपर्छ भन्ने पनि हुँदैन। अवस्था र परिस्थितिअनुसार दिइएको दलीय वा व्यक्तिगत समर्थन फिर्ता लिन पनि सकिन्छ।’
फैसलाले वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था कायम रहेसम्म संसद् विघटनको उपधारा ७ प्रयोगमा आउने अवस्था नहुने स्पष्ट पारेको छ। ‘संविधानको धारा ७६ को उपधारा ५ बमोजिम वैकल्पिक सरकार गठन हुनसक्ने अवस्था कायम रहेसम्म अर्थात् त्यसरी सरकार गठन गर्ने निर्धारित प्रक्रिया सम्पन्न नभएसम्म उपधारा ७ प्रयोगमा आउने अवस्था नै रहँदैन,’ सर्वोच्च अदालतको फैसलाको पूर्णपाठको ७९ नम्बर बुँदामा उल्लेख छ।
यस्तो छ जोडघटाउ
एमाले र माओवादीले समर्थन फिर्ता लिँदैमा नयाँ सरकार बनि हाल्छ भन्न सक्ने अवस्था देखिँदैन्। सत्तारुढ दलहरू भने बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले सहजै सत्ताको चाबी पाउने आंकलन गरिरहेका छन्।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन पेस भएको दाबीमा एमालेका ४० र माओवादीका १३ जना गरी ५३ प्रदेशसभा सदस्य छन्।
कोशीमा बहुमत पुर्याउन ४७ प्रदेशसभा सदस्य आवश्यक पर्छ। दुवै दलका प्रदेशसभा सदस्यले मुख्यमन्त्री कार्कीलाई दिएको विश्वासको मत फिर्ता लिएको प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन्। उनीहरूले प्रदेशसभाको विशेष अधिवेशन बोलाउनसमेत प्रदेश प्रमुखसमक्ष माग गरेका छन्।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले गठबन्धन दलबीच भएको समझदारीअनुसार सबै प्रक्रिया पूरा गरी प्रदेश प्रमुखलाई जानकारी गराइएको छ। उनले भने, ‘हामीले एकैचोटी मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने र सरकार गठनका लागि आवश्यक बहुमत भएको जानकारी गराएका छौं।’
आजको अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया