राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा बिर्तामोडमा निःशुल्क आँखा शिविर

शुक्रबार, ११ पुस २०८२

झापा : राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर झापाको बिर्तामोडमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सहारा नेपाल साकोस ज्येष्ठ नागरिक समाजको आयोजना तथा बिर्तामोड आँखा अस्पतालसँगको प्राविधिक सहकार्यमा रामचोक सामुदायिक भवनमा शिविर आयोजना गरिएको हो ।

शिविरमा बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत डा. विनोद दाहाल र डा. ठूमनसिंह राजवंशीसहितको चिकित्सक टोलीले ज्येष्ठ नागरिकहरूको आँखा परीक्षण गरेका थिए । शिविरबाट कूल १८९ जना ज्येष्ठ नागरिकले प्रत्यक्ष सेवा लिएका छन् ।

जाँच गरिएकामध्ये केहीलाई आवश्यक औषधि र चस्मा निःशुल्क वितरण गरिएको थियो भने जटिल समस्या देखिएका र शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई थप उपचारका लागि बिर्तामोड आँखा अस्पतालमा बोलाइएको छ ।

नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को प्रावधान बमोजिम वि.सं. २०७८ वैशाख ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार प्रत्येक वर्ष पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालिएको हो । वि.सं. २०५१ साल पुस ११ गते नेपालमा पहिलोपटक ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) घोषणा गरिएको ऐतिहासिक दिनलाई आधार मानी यो दिवस मनाउन सुरु गरिएको हो ।

आयोजक संस्थाले आगामी दिनमा पनि ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै यस्ता स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार