ताप्लेजुङ : ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ६ तमोर फाइभ हाइड्रोपावरको आउटलेट सुरुङमार्गमा काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर एक जना मजदुरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमका अनुसार आज बिहान भएको उक्त दुर्घटनामा गुराँस गाउँपालिका वडा नम्बर ३ दैलेखका २४ वर्षीय भद्रबहादुर शाहीको मृत्यु भएको हो । ढुङ्गाले लागेर गम्भीर घाइते भएका शाहीलाई उपचारका लागि आधारभूत स्वास्थ्य संस्था तापेथोक लगिएकामा उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।
यस्तै, मधुवन नगरपालिका वडा नम्बर ४ बर्दियाका ३३ वर्षीय आकाश खड्का घाइते भएका छन् । खड्काको दाहिने खुट्टा भाँचिएको र प्राथमिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक शाहीको शव परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ । घटनास्थलमा प्रहरी चौकी तापेथोकबाट प्रहरी सहायक निरीक्षक पर्शुराम राउतको कमाण्डमा टोली खटिएको थियो । साथै अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक आशिष पोखरेलको कमाण्डमा समेत टोली परिचालन गरिएको प्रहरी प्रमुख गौतमले जानकारी दिएका हुन् ।
प्रतिक्रिया