काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आज सिंहदरबार वैद्यखाना विकास समितिको अनामनगरमा रहेको कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी छन् ।
अनुगमनका क्रममा मन्त्री गौतमले समितिलाई आयुर्वेदिक औषधि उत्पादन गर्नका लागि आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गरिन । उनले समितिबाट उत्पादन भएका आयुर्वेदिक औषधि मुलुकभर पुर्याउनुपर्नेमा समेत जोड दिइन्। मन्त्री गौतमले वैद्यखानाबाट उत्पादन भएका आयुर्वेदिक औषधि र खाद्यपूरक आहारको प्रचार हुन नसकेकाले प्रचारमा पनि ध्यान दिन आग्रह गरिन् ।
सरकारले नागरिक आरोग्य केन्द्रमार्फत मानिसको जीवनशैली परिवर्तन गर्नु आवश्यक रहेको मन्त्री गौतमको भनाइ रहेको थियो । मन्त्री गौतमले औषधि उपचारमा जडीबुटी र आयुर्वेदको प्रयोग बढाउनुपर्नेमा समेत जोड दिएकी थिइन । उनले समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताएन।
कार्यक्रममा समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले समितिबाट अहिले ९४ प्रकारका औषधि उत्पादन भइरहेको जानकारी गराएका थिए । समितिबाट उत्पादन भइरहेका औषधिको माग बढिरहेकाले सबै आयुर्वेद औषधालयमा आयुर्वेद औषधि पुर्याइरहेको समेत उनले बताए । अनुगमनका क्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवको पनि सहभागिता रहेको थियो ।
प्रतिक्रिया