क्लब विश्वकपको उपाधी रियल म्याड्रिडलाई 

आइतबार, २९ माघ २०७९
फिफा क्लब विश्वकपको उपाधी स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ ।  साउदी अरेबियनको अल हिलालमाथि ५–३ को जित दर्ता गर्दै रियलले पाँचौंपटक क्लब विश्वकपको उपाधी चुमेको हो । रियललाई पाँचौपटक च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले समान दुई तथा कप्तान करिम बेन्जेमाले एक गोल गरे। अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरे । मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा शनिबार राति गोलको वर्षा भएको खेलको १३औं मिनेटमा भिनिसियसको गोलबाट रियलले खेलमा १–० को अग्रता लिन सफल भएको थियो । उनले कप्तान करिम बेन्जेमाको पासमा गोल गर्न सफल भएका थिए । १८औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । २६औं मिनेटमा मोउसा मारेगाले मोहम्मद कानोको पासमा गोल गरेपछि पहिला हाफमा २–१ को स्थितिमा टुंगिएको थियो । ५४औं मिनेटमा कप्तान करिम बेन्जेमाले भिनिसियसको पासमा गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए । ५८औं मिनेटमा फेडे भाल्भेर्डेले ड्यानियल कार्भाजलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै रियललाई सहज जिततर्फ अघि बढाए । ६३औं मिनेटमा लुसियानो डारियो भिट्टोले साउद अब्दुलहामिदको पासमा गोल गर्दै अल हिलाललाई ४–२ को स्थितिमा ल्याए । ६९औं मिनेटमा भिनिसियसले ड्यानियल सेवालोसको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ खेल गरेपछि रियलले खेलमा ५–२ को अग्रता लिन सफल भयो । ७९औं मिनेटमा लुसियानो डारियो भिट्टोले माइकलको पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा रियल विजयी हुन सफल भयो । रियल पाँचपटक फाइनल पुग्दा पाँचैपटक च्याम्पियन बन्न सफल भएको हो । सन् २०१४ मा सान लोरेन्जोलाई हराएर पहिलोपटक च्याम्पियन बनेको रियलले त्यसपछि २०१६, २०१७ र २०१८ मा लगातार उपाधि जितेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार