नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पहिलो खेलमा टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले आज सन्दीप लामिछानेलाई मैदान उतारेको छ । सन्दीप बलात्कार आरोपपछि पाँच महिनापछि नेपाली टोलीमा परेका छन् । नेपालले आजको खेलमा भीम सार्की, सूर्य तामाङ र गुलशन झालाई बेन्चमा राखेको छ । सन्दीप जोराले २०१९ पछि पहिलो पटक नेपाली टोलीमा खेल्दैछन् ।
नेपालले ओडिआईमा नामिबियालाई पहिलो पटक हराउन चाहन्छ । नेपालले चार ओडिआई खेल खेल्दा नामिबियासँग तीन हार र एक खेलमा वर्षाको कारण रद्ध छ । नेपाल घरेलु मैदान, वातावरण र समर्थकको भरपूर्ण फाइदा उठाउने सोचमा हुनेछ।नामिबिया २०१६ पछि पटक नेपालमा खेल्दैछ । २०१६ मा दुबै खेलमा नामिबिया नेपालसँग पराजित भएको थियो ।
नेपाल २४ खेलमा ८ मा जित र १४ मा हारसहित १८ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव १२ खेल खेल्न बाँकी छ । जसमा चार खेल युएईमा गएर खेल्नेछ । ८ खेल घरेलु मैदानमा हुनेछन् । नेपालले सबै खेल जित्न सके शीर्ष तीनको सम्भावना अंक गणीतिय देखिन्छ ।
शीर्ष पाँचमा पर्दै ओडिआई मान्यता जोगाउन कम्तिमा ९ खेल जित्नुपर्ने हुन्छ । त्यसैले नेपाल पहिलो खेलमै सानदार जितका साथ पुरै मेमोन्ट आफ्नो हातमा राख्न चाहन्छ । नामिबिया ३० खेलमा १८ मा जित र ११ मा हारका साथ ३७ अंक जोड्दै तेस्रो स्थानमा छ । नामिबिया नेपाल भ्रमणमा शीर्ष तीन औपचारिक रुपमा पक्का गर्ने लक्ष्यमा हुनेछ ।
मुख्य प्रशिक्षक मोन्टी देशाईको यो पहिलो प्रतियोगिता हो । देशाईलाई खेलाडी चिन्ने र कमजोरी सुधार गर्ने राम्रो अवसर समेत हो । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पाँच महिनापछि मैदान फर्किदैछन् । उनको प्रदर्शन निकै महत्वपूर्ण रुपमा हेरिएको छ । राम्रो प्रदर्शनको लागि दबाब पनि हुनेछ ।
प्रतिक्रिया