धरान । बागमती युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै क्यामरुनी टोली एभियर एफसि बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको १४ औं मिनेटमा क्यामरुनका साँवा अलिले गरेको गोल नै निर्णायक भएको थियो ।
उनले प्रिन्सको पासमा हेड गोल गरेका थिए । १–० ले पछि परेको बागमती युवा क्लबले दोस्रो हाफमा क्यामरुनी टोलीलाई दबाबमा राखे पनि गोल गर्न भने सकेन । १ गोल भएपछि खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्ने राम्रो अवसर सिर्जना गर्न सकेनन् ।
दोस्रो हाफमा बाग्मतीका प्रशिक्षक रोजीत केसीले अनिल राना मगर र विजय घलानलाई मैदानमा प्रवेश गराएपछि बागमतीले खेलमा दबाब बढाएको थियो । दोस्रो हाफको १९ औ मिनेटमा बागमतीका राज भुषाल गोल गर्न चुके । डिबक्स भित्रबाट डिफेन्सलाई बिट गरेर प्रहार गरेको बल आकाशिएको थियो । दोस्रो हाफको २३ औं मिनेटमा विजय घलानले प्रहार गरेको बल बारमा लागेर फर्किएको थियो । दोस्रो हाफको ३० औं मिनेटमा अनिल राना मगरले प्रहार गरेको पावरफुल सट क्यामरुनी गोल किपर तासोच एलियनले पञ्च गरे, रिबाउण्डमा विजय घलान गोल गर्न चुके ।
खेलको म्यान अफ द म्याच बागमती युवा क्लबका आयुष राना घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । भोलीको खेल नेपाल पुलिस क्लब काठमाडौ र काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा बीच खेल हुने आयोजकले जनाएको छ ।
आठ टिम सहभागी प्रतियोगितामा विजेतालाई १० लाख, उपविजेतालाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १० हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई जनही २५|२५ हजार नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया