काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन अनेरास्ववियु क्रान्तिकारीको महाधिवेशनमा भद्रगोल भएको छ ।
गत बिहीबारदेखि सुरु भएको महाधिवेशनको एक साता हुँदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन । सङ्गठनमा उमेर हद बारेको विवाद चुलिएपछि महाधिवेशन नै अन्योलमा परेको हो ।
यस अघि पार्टीको निर्देशनमा मङ्गलवार उमेर हदको विवाद मतदानबाट टुङ्गाउने तयारी गरिए पनि विभिन्न गुटको विवादका करण निर्वाचन प्रक्रिया नै सुरु हुन सकेन । उमेर हद विवाद नै टुङ्गिन नसकेपछि नेतृत्व चयनको विषय त अझै धेरै पछाडि रहेको महाधिवेशनमा सहभागी प्रतिनिधिले बताएका छन् । कैयौँ प्रतिनिधि त महाधिवेशन अन्योल बनेपछि फर्किन थालेका छन् ।
अखिल क्रान्तिकारीमा नेताहरूको उमेर हद २८, ३० वा ३२ वर्षे राख्ने भन्ने विवाद रहेको छ । उमेर हद लागु भएमा अहिले नेतृत्वको दाबी गरेका लगभग सबै नेताहरूको विद्यार्थी राजनीति समाप्त हुने बताइएको छ । आफ्नो राजनीतिक करीयर नै सकिने भएपछि धेरै सिनियर विद्यार्थी नेताहरू उमेर हदको विपक्षमा उभिएका छन् ।
उमेर हदको विवादमा आपसमा कुर्सी हानाहानको अवस्था सिर्जना भएको थियो । अनेरास्ववियु क्रान्तिकारीमा विवाद बढेपछि पार्टीले हस्तक्षेपको तयारी गरेको छ । अब महाधिवेशन हलले उमेर हदको विवाद टुङ्गाउन नसकेपछि पार्टीले आज निर्णय लिन लागेको बताइएको छ । क्रान्तिकारीको महाधिवेशन बारे निर्णय लिन अध्यक्ष पुष्प कमल दाहालले आज आफ्नै निवासमा पदाधिकारीसँग छलफल गरिरहेको बताइएको छ । पार्टीले आज उमेर हदको विषयमा निर्णय लिएर नेतृत्व चयनको प्रक्रिया सुरु गर्न सक्ने बताइएको छ ।
अहिले क्रान्तिकारीको नेतृत्वको लागि इन्द्र भुसाल, जिपी मैनाली, नरेश रेग्मी, पवन कार्की, मदन भुल, मदन भट्टराई, नारायण खनाल, क्षितिज सापकोटा, केशव रावल, तुकमान महरा, मिलन एमसी, लक्ष्मी जोशी, प्रवीण अधिकारी, सूर्यनारायण साह, दीपेश पुनसहितका दर्जनौँ नेता अध्यक्षका आकाङ्क्षी रहेका छन् ।
यस महाधिवेशनमा २ हजार ३२३ प्रतिनिधि सहभागी रहेका छन् भने अखिल क्रान्तिकारीले प्रत्यक्ष निर्वाचन प्रक्रियाद्वारा नयाँ नेतृत्व चयन गर्ने बताएको छ ।
प्रतिक्रिया