काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् । पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ । त्यसपछि उनी शीतल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए । पौडेलको शपथग्रहण समारोहबाटै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ हुनेछ ।शपथ ग्रहण र बिदाइ समारोहमा एक हजार पाँच सयभन्दा बढी पाहुनाहरुलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
नयाँ राष्ट्रपति पौडेल शितल निवासमा प्रवेश गरेलगत्तै नेपाली सेनाको टोलीले उनको स्वागतमा २१ तोपको सलामी दिने छ । त्यसपछि शपथग्रहण समारोह सुरु हुनेछ । नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउनेछन् ।त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारीले पौडेललाई राष्ट्रपति पदको आसन सुम्पिनेछिन् र बधाई दिनेछिन् । अन्य विशिष्ट व्यक्तित्व र पाहुनाहरुले पनि बधाई दिनेछन् ।
त्यसपछि निवर्तमान राष्ट्रपति भण्डारीलाई शीतल निवासबाट बिदाइ गरिनेछ । वर्तमान राष्ट्रपतिको स्वागतमा जस्तै निवर्तमान राष्ट्रपतिलाई पनि विदाइमा २१ तोपकै सलामी दिइने राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
निवर्तमान राष्ट्रपति भण्डारी आजै शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा सर्नेछिन् ।उनलाई ससम्मान निवाससम्म लगेर छाडिने राष्ट्रपति कार्यालयका प्रवक्ता आचार्यले जानकारी दिए ।
यसअघि उनले बुढानीलकण्ठस्थित निजी निवासमा सर्ने भनिए पनि घरको मर्मत नसकिएकोले छोरीको घरमा सर्न लागेकी हुन् ।२०७२ को भूकम्पले क्षति पुगेको बुढानीलकण्ठको घर मर्मत कार्य फागुन २० गतेभित्रै सक्ने भनिए पनि सकिएको छैन् ।
प्रतिक्रिया