‘घरपरिवारले दिएको सूचनाअनुसार बिहानको ५ः३० बजे घरमा कोही नभएको बेलामा ढोका लगाएर हिँड्नुभएछ,’ खोजी कार्यमा खटिएका एक प्रहरीले भने, ‘मोबाइल पनि फ्लाइट मोडमा राखेर घरमै छोड्नुभएछ, कहाँ जानुभयो भन्ने खुलेको छैन ।’
खासगरी अधिकारी परिवार काठमाडौँको पशुपति क्षेत्रमा बसोबास गर्दै आएको थियो । धनकुटा पुख्र्यौली घर रहेको उक्त परिवारको सुन्दरहरैँचामा पनि घर रहेको र तिहार मनाउन स–परिवार आएको खुलेको छ ।
‘तिहार मनाउन आएको बेला श्रीमती र छोराछोरीलाई भने मंगलबार नै धरानस्थित ससुराली घर पठाएर आफू बुधबार आउने बताउनुभएको रहेछ,’ ती प्रहरीले परिवारको भनाइ उदृत गर्दै भने, ‘धरानस्थित ससुरालीमा बुधबार बिहान भेट हुने भनिएपनि १० बजेसम्म नआएको र फोन पनि स्वीच अफ भएकाले परिवारले खोजी कार्य बढाएको रहेछ ।’
उनका अनुुसार परिवारलाई मंगलबार नै ससुराली पठाइएको र आफू भने बुधबार आउने बताएका ‘धनकुटा गएर राष्ट्रिय परिचय पत्र बनाउने र ससुरालमा आएर सासूलाई बोलाएर काठमाडौँ जाने सल्लाह रहेछ,’ ती प्रहरीले भने, ‘अस्तिको दिन उहाँ एक्लै हुनुहुँदोरहेछ । परिवारसँग त्यस्तो केही विवाद भने नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अघिल्लोपटक अधिकारी घर आउँदा छरछिमेकसँग खुलेर कुरा गर्थे । तर, यसपटक भने उनी ‘मुड अफ’ भएजसरी कोहीसँग पनि खुलेर कुरा नगरेकोसमेत खुलेको छ ।
बेपत्ता भएका अधिकारीको खोजी गर्न प्रहरीले सर्वसाधारण नागरिकसँग पनि आग्रह गरेको छ ।
प्रतिक्रिया