लागुऔषध ऐनअन्तर्गतको मुद्दामा उनी दोषी ठहर भएर सजाय भुक्तान गरी छुटेका हुन् । प्रहरीले उनलाई पछिल्लोपटक २०८० मंसिर १७ गते खाँदबारी नगरपालिका–७ बाट पक्राउ गरेको थियो । विकाशको घर खाँदबारी–७ मा पनि छ । चिचिला गाउँपालिकामा मंसिर १४ गते डेढ किलोग्राम गाँजा फ्यालेर उनी फरार भएका थिए ।
त्यसको ३ दिनपछि पक्राउ गरेर प्रहरीले लागुऔषध मुद्दा चलाएको थियो । त्योसहित उनी विभिन्न मुद्दामा १० पक्राउ परिसकेका थिए । प्रहरीका अनुसार विकाशले विभिन्न व्यक्तिहरुलाई आक्रमण एवं कुटपिट गर्ने, व्यक्तिगत सम्पत्ति तोडफोड गर्ने तथा लागुऔषध बिक्री गर्ने गरेका थिए ।
उनीविरुद्ध ६ पटक सार्वजनिक अपराध, २ पटक ज्यान मार्ने उद्योग र २ पटक लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलेको थियो । सबैभन्दा पहिला आर्थिक वर्ष २०६५/०६६ मा सार्वजनिक अपराध ऐनअन्तर्गतको मुद्दा चलेको रेकर्ड प्रहरीसँग छ ।
त्यसपछि विकाशविरुद्ध आर्थिक वर्ष २०६७/०६८, २०६८/०६९, २०७२/०७३, २०७३/०७४ र २०७४/०७५ मा सार्वजनिक अपराध ऐनअन्तर्गत एवं अभद्र व्यवहार मुद्दा चलेको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०६७/०६८ र २०७५/०७६ मा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चलेको थियो । आर्थिक वर्ष २०७५/०७६ र २०८०/०८१ मा लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलेको छ ।
विभिन्न मुद्दामा उनलाई अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरेको थियो । तर, सजाय भुक्तान गरेर छुटेपछि उनी लगत्तै अपराधमा संलग्न भइहाल्थे । आर्थिक वर्ष २०६७/०६८ मा चलेको ज्यान मार्ने उद्योग मुद्दामा उनीविरुद्ध सबैभन्दा बढी ५ वर्ष कैद सजाय भएको थियो ।
त्यसपछि पनि विभिन्न समयमा अदालतबाट दोषी ठहर भएर सजाय भुक्तान गर्दै छुटेका व्यक्ति हुन्, विकाश । उनले मच्चाउने अपराधिक राजका कारण सर्वसाधारणले निक्कै असुरक्षित महसुस गर्ने गरको प्रहरीको भनाइ छ ।
‘विकाशबाट असुरक्षित भयौं भनेर पटकपटक सर्वसाधारण आउने गरेका थिए । पक्राउ गरेर मुद्दा चलाए पनि छुटेपछि गएर पुनः अपराधमा संलग्न हुन्थे । विकाशले गरेको अपराधको फेहरिस्त निक्कै लामो छ,’ एक प्रहरी भन्छन् ।
प्रतिक्रिया