आक्रोशित भीडलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो । सुनसरीका प्रहरी प्रमुख (एसपी) सुमन कुमार तिम्सिना, इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीसहित सशस्त्र प्रहरी बाक्लो मात्रामा खटिएका थिए । स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले हवाई फायरसमेत गरेको थियो ।
इटहरी ९ मा रहेको जनता माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत रहेकी सजनाको मृत्युपछि उनकी आमा अनिताकुमारी यादव अहिले बेहोस भएकी छिन् । मृतकका दाजु रोशन यादवका अनुसार सजनाले डाक्टर बन्ने सपना राखेकी थिइन् ।
सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत रोशनले भने, ‘बहिनी ट्यालेन्ट थिइन्, डाक्टर बन्ने सपना थियो ।’ भावविह्वल अवस्थामा रहेका रोशनले बहिनी सजनाले डाक्टर बन्ने सपना राखेपनि बसको गम्भीर लापरबाहीका कारण अकालमै ज्यान गुमाउनुपरेको बताए ।
मृतक बालिकाको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा लगिएको छ । उनका बुबा श्यामलाल यादव र आमा अनिताकुमारी ज्याला, मजदुरी गर्दै आएका छन् ।
यहाँको रिलायन्स फ्याक्ट्रीमा मजदुरी गर्दै आएका उनीहरूले बसको गम्भीर लापरबाहीका कारण छोरीको मृत्यु भएपछि चालकलाई कडा कारबाहीको माग राखेका छन् ।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको छ । खासगरी पूर्वतिर कुद्ने रातो बस तीव्र गतिका सञ्चालन हुने भएकाले प्रहरीले चेकिङमा कडाई गर्नुपर्ने स्थानीयको माग छ ।
तीव्र गतिमा बस चलाउँदा दुर्घटना बढेको भन्दै यसतर्फ प्रहरीले विशेष निगरानी बढाउनुपर्ने स्थानीयले माग राख्दै आएका छन् ।
बस चालक विराटनगर महानगरपालिका वडा नं. १३ बस्ने २७ वर्षीय अमित श्रेष्ठलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया