आजदेखि इटहरी गोल्डकपः उद्घाटन खेलमा एभिनियर क्यामरुन र सगरमाथा भिड्दै

शनिबार, ०४ चैत्र २०७९
विवेक विवश रेग्मी इटहरी । १३औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप शनिबार सुरु हुँदैछ । राष्ट्रिय जागृति क्लबको आयोजनामा चैत ११ गतेसम्म हुने प्रतियोगिता इटहरी रंगशालामा हुनेछ । दिउँसो ३ बजे सुरु हुने पहिलो खेलमा एभिनियर क्लब क्यामरुन र सगरमाथा युथ क्लब मोरङले प्रतिस्पर्धा गर्दैछन् । सगरमाथा युथ क्लब साबिक विजेता क्लब हो । प्रतियोगितामा आठ टिम सहभागी छन् । क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनका अनुसार मछिन्द्र क्लब काठमाडौं, एभिनियर फुटबल क्लब क्यामरुन, चर्च ब्वाइज क्लब काठमाडौं, नेपाल आर्मी क्लब काठमाडौं, रोलिङ्ग क्लब झापा सहभागी छन् । यसैगरी, सगरमाथा युथ क्लब मोरङ, कन्चनजङ्गा फुटबल क्लब भारत र आयोजक राष्ट्रिय जागृति क्लबले प्रतियोगितामा सहभागिता जनाउने छन् । विजेता टिमले नगद १० लाख र उपविजेता टिमले नगद ५ लाखसहित ट्रफी हात पार्नेछन् । हरेक दिनको म्यान अफ द म्याचले नगद १० हजार पुरस्कार प्राप्त गर्नेछन् । विभिन्न विधामा उत्कृष्ट हुनेले २० हजार र सहभागी प्रत्येक टिमलाई प्रतिखेल२० हजार तयारी खर्चसमेत उपलब्ध गराइने जनाइएको छ । प्रत्येक खेलाडीलाई दैनिक १ हजार ५ सयको दरले भत्ता उपलब्ध गराइने आयोजकले जनाएको छ । प्रतियोगिताका संयोजक अनुरोध थापाले खेलमा ७० लाख ५० हजार खर्च हुने अनुमान गरिएको बताए । गोल्डकपलाई कन्ट्रोल लुब्रिकेटले प्रायोजन गरेको छ । इटहरी उपमहानगरपालिकाको संयोजन रहने प्रतियोगिताका लागि खेलकुद विकास बोर्ड कोसी प्रदेशले १४ लाख र राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैयाँ सहयोग गरेका छन् । इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले खेलको उद्घाटन गर्ने तय भएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार