नेपालद्वारा लाओस पराजित

बुधबार, ०८ चैत्र २०७९
काठमाडौं । आयोजक नेपालले प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा  विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको पहिलो खेलमा लाओसलाई २-० गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो । नेपालको जितमा अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको ३० औं मिनेटमा अनन्तले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । अनन्तको यो नेपालका लागि तेस्रो गोल हो । त्यसपछि खेलको ५६ औं मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को जित दिलाए । कप्तान किरण चेम्जोङको लामो पासमा करिब ३० यार्डबाट बल नियन्त्रणमा लिदै नवयुगले उत्कृष्ट भली गोल गरे । नेपालका लागि उनको यो आठौं गोल हो । खेलमा नेपालका अनन्त म्यान अफ दि म्याच चुनिए । जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । र, नेपालको फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ । त्यस्तै चैत १४ गते नेपालले भुटानसँग  खेल्नेछ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्ने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार