विराट गोल्डकप : आर्मीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

शनिबार, ११ चैत्र २०७९
विराटनगर । त्रिभुवन आर्मीलाई सडनडेथमा ६–५ गोलले हराउँदै जावलाखेल युथ क्लब शुक्रबार सातौं विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । निर्धारित र अतिरिक्त समयमा दुवै टिमबाट गोलरहित खेले । खेलको निर्णय टाइब्रेकरबाट गर्दा पनि बराबरी भएपछि सडनडेथमा पुगेको थियो । जावलाखेलको तर्फबाट सीमान्त थापा, फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र बिसाल तामाङले गोल गरेका थिए । आर्मीको तर्फबाट टंक बस्नेत, टेकबहादुर बुढाथोकी, जिलेस्पी जंग कार्की, सन्तोष केसी र गोलकिपर बिकेस कुथुले गोल गरेका थिए भने सेसेहाङ आङ्देम्बेको प्रहार बाहिरिँदा आर्मी घर फर्किन बाध्य भयो । खेलको म्यान अफ द म्याच जावलाखेलका सीमान्त थापा भए । उनले २५ हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै जावलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते सेमिफाइनल खेल खेल्ने छ । जावलाखेललाई दबाबमा राखेर खेलेको आर्मीले पटक-पटक सिर्जना गरेका गोलका अवसर सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट पहिलो खेलबाटै बाहिरिन बाध्य भयो । दसौं मिनेटमा उसका आशीष शाक्यले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार फ्रेम बाहिर गयो । कप्तान जिलेस्पीजंग कार्कीले २३ औं मिनेटमा ३० यार्डबाट गरेको कडा प्रहारलाई जावलाखेलका गोलकिपर अनिष देउलाले गोल हुनबाट जोगाएका थिए । लगत्तै भरत चौधरीले देउला वीट भइसकेको अवस्थामा बललाई सही दिशा दिन सकेनन् । ३६ औं मिनेटमा आर्मीका सुलिद राईले डिफेन्डरलाई क्रस गरेर निकालेको बल सुशान्त चौधरीले पेनाल्टी एरियाबाट गरेको प्रहारले पोष्टको दिसा नलिदा गोलको अवसर चुकेको थियो । जावलाखेलका विदेशी खेलाडी मसोवीको पनि ३९ औं मिनेटमा गोल गर्न चुकेका थिए । राहुलले ४४ औं मिनेटमा दिएको क्रसपासमा मसोवीले वान भर्सेस वानको अवस्थामा गोल गर्न चुकेका थिए । उनको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले पञ्ज गरेर बललाई मैदानमा फर्काएका थिए । दोस्रो हाफबाट आर्मीले आक्रमक खेल पस्कियो । ५२ औं मिनेटमा कप्तान जिलेस्पीको हेड पोस्टमाथिबाट बाहिरिँदा आर्मीले अग्रता लिन सकेन । ६० औं मिनेटमा मध्यभागबाट एक्लै बल अघि बढाएका सेसेहाङ आङ्देङबको प्रहार दायाँ बार हुँदै बाहिरिँदा आर्मी अग्रता लिनबाट चुक्यो । ६५ औं मिनेटमा वान भर्सेस वानमा जावलाखेलका सिमान्त थापाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार आर्मीका गोलरक्षक कुथुले उत्कृष्ट बचाउ गर्दै टिमको संकट टारेका थिए । लगत्तै अब्दुलको प्रहारलाई पनि कुथुले विफल पारे । ७३ औं मिनेटमा आर्मीका सुदीप राईले पेनाल्टी एरियामा निकालिदिएको बल कप्तान जिलेस्पीको प्रहार पोष्टमाथिबाट बाहिरिँदा आर्मीले निर्धारित समयमा गोल गर्ने अर्को अवसर गुमाएको थियो । ८३ औं मिनेटमा युद्ध शाहीले निकालिदिएको पास जिलेस्पीले डिबक्सभित्र बल नियन्त्रणमा लिन नसक्दा अवसर गुम्यो । ८६ औं मिनेटमा जावलाखेलका कप्तान सिमान्त थापाले मध्यभागबाट बल एक्लै अगाडि बढाएर डिबक्स भित्रबाट आर्मीका गोलरक्षकलाई बीट गर्न नसक्दा गोल गर्ने राम्रो अवसर गुमाएका थिए । अतिरिक्त समयको १५ औं मिनेटमा आर्मीका सन्तोष केसीले फ्रिकिक कप्तान जिलेस्पीले पेनाल्टी एरियाबाट गरेको प्रहार पोष्ट माथिबाट बाहिरिँदा खेल पेनाल्टी चरणमा पुगेको थियो । शनिबार साविक विजेता सशस्त्र प्रहरी र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार