रामधुनी : उद्योग वाणिज्य संघ झुम्काको निर्वाचनमा तीनजना अध्यक्षका उम्मेदवारसहित प्यानलले बहिष्कार गरेको छ ।
फेक मतदाता भेटिएको र छानबिन हुनुपर्ने माग राखिएपनि निर्वाचन समितिले एकतर्फी रूपमा चुनाव गर्न लागेको भन्दै अध्यक्षका उम्मेदवार तीनजनासहित प्यानलले चुनाव बहिष्कार गरेको हो ।
आज (सोमबार) बिहान पत्रकार सम्मेलन गर्दै अध्यक्षका उम्मेदवार दुर्गा फुयाँल, भरत कार्की र सन्दीप गौतमले चुनावममा सहभागी नहुने भन्दै बहिष्कार गरेका हुन् ।
‘यहाँका सदस्य गैर सदस्य छन् भनेर हामीले विभिन्न पटक कुरा उठाइरहँदा र बेथिति अन्त्य हुनुपर्ने माग राखिरहँदा निर्वाचन समितिले एकतर्फी हिसाबमा चुनाव गर्न खोज्यो,’ अध्यक्षका उम्मेदवार फुयाँलले भने, ‘बेलुका ६ बजे सूचना जारी गरेर भोलिपल्ट १२ बजे निर्वाचन हुन्छ ? एकतर्फी चुनाव गराउन खोज्ने ?’
फेक मतदाता भएका कारण यसअघि जिल्ला प्रशासन कार्यालय सुनसरी र उच्च अदालत विराटनगरमा उजुरी समेत परेको थियो । आइतबार हुन लागेको निर्वाचनमा चैत १६ गते बिहीबार उच्च अदालत विराटनगरले तत्काल निर्वाचन नगर्न भन्दै अल्पकालीन आदेश दिएको थियो ।
आइतबार उच्च अदालतले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्नु भनेर भनिएपनि हुकुमी शैलीमा निर्वाचन गराउन खोजिएको आरोप लगाइएको छ ।
प्रतिक्रिया