काठमाडौँ-‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन स् सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नाराका साथ राष्ट्रिय कर दिवस आजदेखि सप्ताहव्यापी रुपमा मनाइने भएको छ।
आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयमा एक सातासम्म करदाता शिक्षासँग सम्बन्धित विभिन्न कार्यक्रम गर्ने र मङ्सिर ७ गते उत्कृष्ट करदातालाई सम्मानित गरिने जनाइएको छ। विभागअन्तर्गत एउटा ठूला करदाता कार्यालय, एउटा मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालय गरी कूल ८४ वटा कार्यालय सञ्चालनमा रहेका छन्।
विभागका अनुसार गत आर्थिक वर्ष २०७९/८० सम्ममा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ५५ लाख २५ हजार नौ सय १९ रहेको छ। जसमध्ये व्यावसायिक स्थायी लेखा नम्बर (बी-पान) लिएका करदाताको सङ्ख्या १८ लाख ७६ हजार तीन सय पाँच र व्यक्तिगत स्थायी लेखा नम्बर (पी-पान) लिने करदाताको सङ्ख्या ३६ लाख ४९ हजार छ सय १४ रहेको छ।
गत आर्थिक वर्ष २०७९/८० मा सरकारले कूल रु नौ खर्ब ५७ अर्ब बराबर राजस्व असुली गरेकोमा आन्तरिक राजस्व विभागबाट उठेको राजस्व मात्र रु.चार खर्ब ७९ अर्ब बराबर थियो। जुन सरकारको कुल वार्षिक राजस्व असुलीको ५० दशमलव १२ प्रतिशत बराबर हो । गत आव सरकारले विभागलाई रु छ खर्ब २६ अर्ब ६१ करोड बराबर राजस्व असुलीको लक्ष्य दिएकोमा लक्ष्यको ७६ दशमलव ५७ प्रतिशत अर्थात् रु चार खर्ब ७९ अर्ब ७९ करोड बराबर राजस्व उठेको विभागले जनाएको छ। मुलुकको कूल गार्हस्थ्य उत्पादनमा आन्तरिक राजस्वको योगदान करिब २० प्रतिशत रहेको छ।
Discussion about this post