विराटनगर । सुरक्षा सक्रियता बढाएका कारण कोशी प्रदेशमा यसवर्ष चाडपर्वमा ठूला अपराध र अप्रिय घटना हुन पाएनन् । यद्यपि, छिटपुट घटनाहरु भएका छन् ।
नेपाली हिन्दु धर्मावलम्बीहरुको महान पर्व दसैं, तिहार र छठमा फाटफुटबाहेक सामूहिक हिसाबका ठूला अपराध एवं अप्रिय घटना नभएको प्रहरीले जनाएको छ । कोशी प्रदेशमा १४ वटा जिल्ला छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार यसवर्ष चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएका छन् ।
प्रहरीले चाडपर्वलाई लक्षित गरेर सुरक्षा योजना बनाउँदै असोज २८ देखि मंसिर ४ गतेसम्मका लागि प्रदेशमा लागू गरेको थियो । विशेष सुरक्षा योजना बनाएर लागू गर्दै सबै ठाउँमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएका कारण दसैं, तिहार र छठजस्ता पर्वमा अप्रिय एवं ठूला घटना हुन नपाएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका निमित्त प्रवक्ता एवं डीएसपी सुनील दाहालले बताए ।
कोशीमा चाडपर्वको अवधिमा ८ जनाको हत्या भएको छ । प्रहरीका अनुसार १ सय ७१ जनाले आत्महत्या गरेका छन् । कुटपिट र झैझडासँग सम्बन्धित ७४ वटा घटना भएका छन् । जुवातासका ७, जबरजस्ती करणीका १०, लागूऔषधका ९८, चोरीका १० र हातहतियारसँग सम्बन्धित २ वटा घटना भएको डीएसपी दाहालले बताए ।
उनका अनुसार चाडपर्वको अवधिमा प्रदेशभरि ६ सय ५० वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परेर ४८ जनाको मृत्यु भएको छ । विभिन्न घटनामा संलग्न ४ सय ८६ जनालाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइएको जानकारी दाहालले दिए । उनका अनुसार हत्यामा संलग्न १०, कुटपिट एवं झैझगडामा संलग्न ६५, जुवातास खेल्ने ५४, बलात्कारमा संलग्न ९, लागूऔषध ओसारपसार गर्ने ९२, दुर्घटना गराउने २ सय ४९, चोरीमा संलग्न ५ र हतियारसहित २ जना पक्राउ परेका हुन् । विगतमा जस्तो यसवर्ष संगठित अपराध, सामूहिक बलात्कार, लुटपाट, डकैती, आगजनीजस्ता ठूला एवं अप्रिय घटना हुन नपाएको दाहालले बताए ।
सबैको साथ र सहयोगका कारण तुलनात्मक हिसाबले यसवर्ष चाडपर्व शान्तिपूर्ण रूपमा सम्पन्न भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले बताए । उनका अनुसार विगतमा जस्तो यसवर्ष मोरङमा ठूला अपराधिक घटना भएनन् । अपराधिक योजना बनाएर हिँडेको समूहलाई घटना गराउनुअघि नै पक्राउ गरिएको एसपी पोखरेलको भनाइ छ ।
दसैंका समयमा लुटपाट एवं डकैतीको योजना बनाएर हिँडेको अपराधिक गिरोहलाई प्रहरीले मोरङबाट हतियारसहित पक्राउ गरेको थियो । चाडपर्वलाई लक्षित गरी प्रहरी सक्रियता बढाउँदै सुरक्षा व्यवस्था कडा पारेर चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सबै उपायको अवलम्बन गरिएको पोखरेलले बताए । उनका अनुसार मानवीय चहलपहल, भीडभाड तथा आर्थिक गतिविधि धेरै हुने स्थानलाई विशेष निगरानीमा राखिएको थियो ।
प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोला चाडपर्वलाई लक्षित गरेर प्रहरीले चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावित स्थानको निगरानी बढाउँदा ठूला अपराध हुन नपाएको बताउँछन् । उनका अनुसार बैंक, वित्तिय संस्था एवं आर्थिक गतिविधी धेरै हुने ठाउँ, महत्वपूर्ण प्रतिष्ठान, सुनचाँदी पसल, सरकारी तथा गैरसरकारी कार्यालय, एटीएम बुथ, सार्वजनिकस्थल र पसलहरुमा सुरक्षा सतर्कता बढाइएकाले चाडपर्वका बेला अपराधिक घटना कम भए ।
विगतका घटनालाई विश्लेषण गरी प्रहरी उपस्थित बढाएकै कारण सामूहिक अपराध रोकिएको बास्तोला बताउँछन् । विगतमा भएका घटना एवं अपराधिक गतिविधिलाई मध्यनजर गर्दै त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ । चाडपर्वका बेला सादा पोसाक तथा हतियारसहितका प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था मिलाइएको थियो ।
संवेदनशील क्षेत्र तथा भित्री सडक र एकान्त स्थानमा प्रहरीको ‘पिकेट ड्युटी’, ‘क्वीक रेस्पोन्स टिम’ तथा साइकल, मोबाइल र पैदल गस्ती परिचालन गरिएको थियो । धार्मिक तीर्थस्थल, शक्तिपीठ, मठ मन्दिरलगायत भक्तजनहरुको भीडभाड एवं घुइँचो हुने स्थान प्रहरीको विशेष निगरानीमा थिए । मादक पदार्थ सेवन (मापसे)बाट हुने झैझगडा एवं अपराध नियन्त्रण, कालो बजारी, इन्धन तथा दैनिक उपभोग्य वस्तुको कृतिम अभाव नियन्त्रणलगायतमा प्रहरीले ध्यान दिएको डीआईजी बास्तोला बताउँछन् ।
चाडपर्वमा यातायातको सहज उपलब्धता, ट्राफिक व्यवस्थापन, तस्करी, हातहतियार तथा लागूऔषध र मदिराको अवैध ओसारपसार नियन्त्रण नेपाल र सशस्त्र प्रहरीको प्राथमिकतामा परेको थियो । ‘जुवा, तासलगायत गैह्रकानुनी खेलहरु र शान्ति भड्काउन खोज्नेलाई पूर्णरूपमा नियन्त्रणमा लिने योजनाअनुरुप काम गरियो,’ बास्तोलाले भने, ‘उद्योग, कलकारखाना, महत्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षामा कमी भएन ।’
उनका अनुसार शंकास्पद व्यक्तिहरु एवं सार्वजनिकस्थलमा हुने गतिविधिको निगरानी, सीमा क्षेत्रमा कडाइ, पकेटमारलगायत अपराधिक प्रवृत्तिका मानिसहरुको पहिचान र नियन्त्रणमा प्रहरी सक्रिय थियो । चाडपर्वमा अपराध नियन्त्रण गर्न सीसी क्यामेरामार्फत निगरानी बढाउँदै प्राविधिको प्रयोगलाई उच्च प्राथमिकतामा राखिएको बास्तोलाले बताए । उनका अनुसार चाडपर्वको अवधिमा भारतसँग सीमा जोडिएका स्थानमा तालिमप्राप्त कुकुरसहितको चेकजाँच गरिएको थियो ।
डीआईजी बास्तोलाले चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि ७ हजार ५ सय १५ जना प्रहरी परिचालन गरिएको जानकारी दिए । अवाञ्छित गतिविधि रोकथाम एवं नियन्त्रण गर्दै आमनागरिकमा सुरक्षित, भयरहित, हर्ष र उल्लासका साथ पर्व मनाउने वातावरण सिर्जना गर्न प्रहरीले सबै उपायको अवलम्बन गरेको उनको भनाइ छ । चाडपर्वलाई लक्षित गरेर प्रहरीले प्रदेशस्तरीय र १४ वटै जिल्लामा ‘कमाण्ड पोस्ट’को स्थापना गरेको थियो ।
चाडपर्वका बेला सीमा अपराध नियन्त्रणका लागि नेपाली प्रहरीका साथै भारतीय ‘काउण्टर पाट्र्स’सँग समेत समन्वय र सहकार्य गरिएको कोशी प्रदेशका सशस्त्र प्रहरी प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले बताए । उनका अनुसार सीमा नाकाबाट हुने अवैध ओसारपसारलगायतका अपराध नियन्त्रणमा सशस्त्र केन्द्रित थियो ।
भारतबाट लागूऔषध, हातहतियार एवं विष्फोटक पदार्थको ओसारपसार तथा अन्य अपराधिक गतिविधि हुन नदिन उच्च सतर्कता अपनाइएको उनको भनाइ छ । चाडपर्वमा सुरक्षा निकायले विशेष निगरानी बढाएकै कारण नेपाल–भारत सीमा क्षेत्रमा विगतजस्तो अवस्था तनावपूर्ण नभएको जानकारी डीआईजी पोखरेलले दिए ।
Discussion about this post