धरान । किरात राई समुदायको प्रमुख चाड साकेला उभौलीको तयारी सुनसरीमा तीव्र भएको छ। किरात राई यायोक्खा सुनसरीले हरेक वर्षझैं यस वर्ष पनि साकेला उभौलीको अवसरमा जिल्लाका २४ स्थानमा भव्य कार्यक्रम गर्ने तयारी गरेको छ।
वैशाख पूर्णिमादेखि विधिवत रूपमा सुरु हुने साकेला उभौली पर्व करिब १५ दिनसम्म (औंसीसम्म) ढोलझ्याम्टा बजाएर, स्याउली गाडेर र साकेला सिली नाचेर मनाइने परम्परा रहेको छ। यस वर्षको कार्यक्रम वैशाख २९ गतेबाट सुरु हुने भएको हो।
शनिबार धरान–१७ स्थित साकेला सांस्कृतिक पार्कमा आयोजित पत्रकार सम्मेलनमा किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले साकेला सिली संरक्षण र प्रवर्द्धनका लागि विगत २५ वर्षदेखि प्रतियोगितात्मक कार्यक्रम गर्दै आइरहेको जानकारी दिए। उनका अनुसार यस वर्ष धरान–१४ स्थित हाङ बुद्धीकर्ण राईको दरबारक्षेत्र, विजयपुरबाट ढोलझ्याम्टा फुकाएर औपचारिक रूपमा साकेला पर्वको शुभारम्भ गरिनेछ।
यस वर्षको साकेला उभौलीमा सुनसरीका विभिन्न वडा कार्य समितिहरू, भाषिक संघसंस्थाहरू र समुदायहरूले २४ स्थानमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन्। अन्तिम दिन जेठ १७ गते धरान–१७ स्थित साकेला सांस्कृतिक पार्कमा प्रतियोगितात्मक साकेला सिली प्रदर्शन गरिनेछ, जसमा पहिलो स्थान प्राप्त गर्ने टोलीलाई ४० हजार, दोस्रोलाई ३० हजार र तेस्रोलाई २० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
त्यसैगरी, धरान भित्र र बाहिरका १३ वटा विभिन्न विधामा समेत प्रतियोगिता हुने र यसमा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई क्रमशः ७ हजार, ६ हजार र ५ हजार नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिने छ।
साकेला सिली अहिले नेपाल मात्रै होइन, भारत, हङ्गकङ, बेलायत, जापान, सिंगापुर, अमेरिका, दक्षिण कोरिया, दुबई, कतार, मलेशिया, अष्ट्रेलिया लगायत किरात राईहरूको बसोबास रहेका देशहरूमा समेत भव्यताका साथ मनाइन्छ।
अध्यक्ष राईले साकेला उभौली पर्वलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै परम्परागत संस्कृति बचाउने, समुदायबीच एकता कायम गर्ने र विश्वभर रहेका किरात राईहरूको सांस्कृतिक पहिचान जोगाउने मुख्य उद्देश्य रहेको बताए।
प्रतिक्रिया