धरान : स्वर्गीय पत्रकार हिमाल राईको स्मृतिमा ‘हिमाल राई स्मृति पुरस्कार अक्षयकोष’ स्थापना गरिएको छ। पत्रकार राईकी धर्मपत्नी पर्वता तुम्बाहाम्फे राईले आफ्नै पहलमा दुई लाख पाँच रुपैयाँको अक्षयकोष घोषणा गरेकी हुन्।
शुक्रबार बराहक्षेत्र नगरपालिका–२ स्थित आफ्नै निवासमा आयोजित एक विशेष कार्यक्रममा उनले उक्त रकम नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीकी कोषाध्यक्ष स्वर्णिम राईलाई औपचारिक रूपमा हस्तान्तरण गरिन्।
फोनिज सुनसरीले उक्त अक्षयकोषलाई हरेक वर्ष सञ्चालन गर्नेछ। फोनिजको विधान र दाताको इच्छाअनुसार, कोषबाट प्राप्त हुने आम्दानी पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान र पुरस्कार प्रदान गर्न प्रयोग गरिनेछ।
कार्यक्रममा फोनिज सुनसरीले पर्वता तुम्बाहाम्फे राई र उनको परिवारप्रति विशेष आभार व्यक्त गरेको थियो।
सो अवसरमा वरिष्ठ पत्रकार हर्ष सुब्बा, जनक ऋषि राई, फोनिज सुनसरीका अध्यक्ष सुनिल चौधरी, जिल्ला सचिव प्रमिला राई लगायतका वक्ताहरूले स्व. राईको निर्भीक पत्रकारिताको स्मरण गर्दै, दाता परिवारप्रति कृतज्ञता व्यक्त गरे।
कार्यक्रममा फोनिज सुनसरीका सदस्यहरू सन्तोष गुप्ता, बुद्धहाङ लिम्बू, स्मारिका राई, सचिन राई, किरात राई यायोक्खा बराहक्षेत्र नगर समितिका कोषाध्यक्ष चिना राई तथा विभिन्न समाजसेवीहरू पनि सहभागी थिए।
बराहक्षेत्र नगरपालिका–२ का स्थायी बासिन्दा स्व. हिमाल राई दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए। उनी फोनिज सुनसरीका उपाध्यक्ष समेत थिए। २०८२ साल वैशाख १४ गते असामयिक निधन भएका राईले आफ्नो पत्रकारिता यात्रामा सधैं सत्य, तथ्य र निष्पक्षताको पक्षमा रहेर काम गर्दै महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
* दुई लाख पाँच रुपैयाँ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको ।
प्रतिक्रिया