द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदैः विश्व बैंक

शुक्रबार, १३ असार २०८२

विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिंदो द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको गम्भीर चेतावनी दिएको छ ।

प्रतिवेदनअनुसार, सन् २००० को दशकको शुरुवातदेखि हालसम्म द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति तीन गुणा बढी भएको छ । यसले गर्दा असुरक्षित र द्वन्द्व प्रभावित मुलुकहरूमा अत्यधिक गरिबी र खाद्य संकटको अवस्था अझ गहिरिँदै गएको उल्लेख गरिएको छ ।

यस वर्ष मात्र, ४२ करोडभन्दा बढी मानिसहरू दिनको तीन अमेरिकी डलरभन्दा कम आम्दानीमा गुजारा चलाइरहेका छन्, जुन स्थिति विश्व बैंकले ‘चरम गरिबी’ को परिभाषामा राखेको छ । यस्तो दरले बढिरहेमा सन् २०३० सम्म यो संख्या ४३ करोड ५० लाख नाघ्न सक्ने अनुमान गरिएको छ ।

विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले भने,“युक्रेन र मध्यपूर्वका द्वन्द्वमा हाल विश्व समुदायको ध्यान केन्द्रित भए पनि, आजका आधा द्वन्द्वग्रस्त देशहरू १५ वर्षभन्दा लामो समयदेखि अशान्ति र अस्थिरतामा फसेका छन् ।”

हाल ३९ देशलाई द्वन्द्व प्रभावित मुलुकको सूचीमा राखिएको छ, जसमा २१ देश प्रत्यक्ष सशस्त्र संघर्षमा रहेका छन् । यस सूचीमा युक्रेन, सोमालिया, दक्षिण सुडान, गाजा क्षेत्र र पश्चिमी तटका साथै इराकजस्ता देशहरू समावेश छन् । यद्यपि, इरान भने समावेश गरिएको छैन ।

विश्व बैंकले भनेको छ, “द्वन्द्वको सुरुआत हुनु अघि नै गरिने रोकथामको पहल धेरै सस्तो, प्रभावकारी र दीर्घकालीन रूपमा फाइदाजनक हुन्छ । 
 

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार