जेन्जी आन्दोलनपछिको पुनर्निर्माण: दुहबीमा १८ लाखका उपकरण हस्तान्तरण, ३० पालिकामा विस्तार हुँदै

शुक्रबार, १२ मंसिर २०८२

विराटनगर : जेन्जी आन्दोलनका कारण क्षतिग्रस्त स्थानीय तहहरूमा सेवा पुनःस्थापना र प्रशासनिक कार्य सहज बनाउन कोशी प्रदेश सरकारले पुनर्निर्माण अभियानलाई तीव्रता दिएको छ। यही अभियानअन्तर्गत आज दुहबी नगरपालिका कार्यालयलाई करिब १८ लाख रुपैयाँ बराबरका कम्प्युटर, ल्यापटप, दराज, टेबल–कुर्सीसहितका ११ प्रकारका उपकरण हस्तान्तरण गरिएको छ।

दुहबीमा आयोजित विशेष समारोहमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नगरप्रमुख वेद नारायण गच्छदारलाई सामग्री हस्तान्तरण गरे। गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि ध्वस्त भएका कार्यालयहरूलाई सहयोग गर्ने कार्ययोजना अनुरूप कोशी प्रदेशले आजदेखि ३० स्थानीय तहमा ६ करोड १८ लाख बराबरका उपकरण वितरणको सुरुआत दुहबीबाट गरेको हो।

कोशी प्रदेशका ४०१ क्षतिग्रस्त वडामध्ये १५४ वडामा प्राथमिकता दिँदै प्रशासनिक, प्राविधिक र स्वास्थ्य सेवा सुचारु गर्न यो सहयोग गरेको प्रदेश सरकारले जनाएको छ। आन्दोलनका कारण १३७ पालिकामध्ये ३७ पालिका प्रभावित भएका थिए। मुख्यमन्त्री कार्कीले प्राप्त सहयोग रकमलाई प्रत्यक्ष जनसेवाही कार्यालयमा खर्च गर्ने नीति अनुरूप सामग्री वितरण गरिएको उल्लेख गर्दै १० दिनभित्र सबै पालिकामा सहयोग पुर्‍याइने बताए।

WhatsApp Image 2025-11-28 at 4.34.26 PM

यस अन्तर्गत कम्प्युटर, ल्यापटप, प्रिन्टर, यूपीएस, टेबल–कुर्सी, दराज, बायोमेट्रिक हाजिरी उपकरण, नेटवर्किङ स्विच, औषधि तथा प्लास्टिक कुर्सी लगायतका सामग्री समावेश छन्। प्रदेश सरकारको पहल, स्वीस सरकार विकास सहयोग कार्यक्रममार्फत प्राप्त स्रोत र विकास साझेदार निकायबीचको समन्वयमा सामग्री व्यवस्थापन र वितरण गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

नगरप्रमुख वेद नारायण गच्छदारले दुहबी नगरपालिकामा मात्रै करिब ४ करोड ६५ लाख बराबरको क्षति भएको उल्लेख गर्दै प्रदेश सरकारले अग्रसर भएर सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिए। सामग्री हस्तान्तरणले जनताप्रति सेवा सुचारु गर्न थप सहज हुने उनको भनाइ थियो।

प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गर्दै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, सेवा पुनर्सञ्चालन र जनजीविकामा राहत पुर्‍याउने कार्यलाई निरन्तर अघि बढाउने जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार